छेडागाड नगर अस्पताललाई तीन करोढबढीको उपकरण

जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ५ स्थित फुर्किचौरमा रहेको छेडागाड नगर अस्पताललाई कुमारी फाउण्डेसन काठमाडौंले तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

आइतवार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच रोटरी क्लब अफ काठमाडौं र रोटरी क्लव अफ मुम्वई कप परेडको सहयोगलाई कुमारी फाउण्डेसनले छेडागाड नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

‘यो हाम्रो लागि महत्वपूर्ण सहयोग हो, ढुक्क हुनुस् जनताका पक्षमा यसको पूर्ण सदुपयोग नगरपालिकाले गर्नेछ,’ कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका फाउण्डेसनका अध्यक्ष राजिव विक्रम शाहसँग उक्त सहयोग सामाग्री ग्रहण गर्दै पालिकाका अध्यक्ष रत्न बहादुर खड्काले भने ।

नगर प्रमुख खड्काले प्राप्त स्वास्थ्य उपकरणहरुको उपयोग र संरक्षणमा पालिका प्रतिबद्ध रहेको बताए । उनले अस्पताललाई नमूना अस्पताल बनाउने घोषणा गरे । बजेट र जनशक्ति व्यवस्थापनमा पालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । करिव ७–८ करोडको भौतिक संरचना निर्माण भइसकेकाले फाउण्डेसनबाट प्राप्त उपकरणले स्वास्थ्य सेवा प्रवाहका निमित्त ठूलो भूमिका निर्वाह गरेको उनले बताए । अस्पतालको भौतिक पूर्वाधारमा आवश्यक मर्मत सम्भार गरेर आगामी असार ५ गते भव्य कार्यक्रमका बीच सेवा सुरु गरिने पनि उनले जानकारी दिए ।

स्थानीयलाई स्वास्थ्य सेवाको पहुँच उपलब्ध गराउने आफ्नो सपनाले पूर्णता पाएको भन्दै मन्त्री शाहले २०६७–०६८ सालमा जाजरकोटमा झाडापखला फैलिँदा करिब दुई सय नागरिकले ज्यान गुमाएका बेला आफुले गरेको प्रणले सार्थकता पाउँदै गरेको बताउँदै भने ।

आफ्नै लगानीमा हेलिकप्टर चार्टर गरेर औषधि र चिकित्सक गाउँगाउँमा पुर्याएर रोग नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको अवस्था स्मरण गर्दै मन्त्री शाहले कार्यक्रममा भने । मन्त्री शाहले स्वास्थ्य चौकी अभावमा नागरिकले अकालमा ज्यान गुमाउनु परेको दर्दनाक अवस्था देखेरै अस्पताल सञ्चालनका लागि निःशुल्क जग्गा उपलब्ध गराएको बताए ।

त्यही जग्गामा शाहले १५ शैयाको अस्पताल सञ्चालनका लागि पूर्वाधार समेत बनाए । तर, चार पाँच वर्ष अघि नै सञ्चालनमा आउनुपर्ने अस्पताल विभिन्न कारणले अलपत्र अवस्थामै रह्यो । ‘विकासमा राजनीति उपयुक्त हुँदैन,’ अस्पतालका लागि रोटरी क्लवले कुमारी फाउण्डेसनलाई उपलब्ध गराएको करोडौं मूल्यका स्वास्थ्य सामग्री नेपालगन्जमै विगत तीन वर्षदेखि राखिएको स्मरण गर्दै अध्यक्ष शाहले भने ।

छेडागाड नगर प्रमुख खड्काले अस्पताललाई आफ्नो पालिका मातहतमा ल्याउन गरेको सकारात्मक पहलले सार्थकता पाएकाले लामो समयसम्म नेपालगन्जमा थन्किएर रहेका करोडौं मूल्यका स्वास्थ्य उपकरणहरु जाजरकोट लगिने भएको हो । ‘मानव सेवाको उद्देश्यले यी स्वास्थ्य सामग्रीहरु छेडागाड नगर अस्पताललाई हस्तान्तरण गरिएको हो,’ शाहले भने–‘यसमा कुनै राजनीतिक भाव छैन । आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित हुन नपरोस् भन्ने एउटा मात्रै उद्देश्य हो ।’

कुमारी फाउण्डेसनले डेन्टल, आँखा, गाइने, बालरोग विभाग, जनरल वार्ड, इएन्टी वार्डमा आवश्यक पर्ने वेशिक र सर्जिकल स्वास्थ्य सामग्री नगर अस्पताललाई उपलब्ध गराएको जनाएको छ । त्यसैगरी प्रयोगशालाका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरण पनि उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत हेमकुमार ढकालले बताए ।

हस्तान्तरण कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्ष शशी सत्याल, सर्भिस चेयर सञ्जय कुमार अग्रवाल, जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालिबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो । केही दिनमै उपकरणहरु न्ेपालगन्जबाट जाजरकोट लगेर जडान गरिसकिने नगरपालिकाले जनाएको छ । असार पहिलो सातानै अस्पताल उद्घाटन गरिने नगरप्रमुख खड्काले बताएका छन् ।

Exit mobile version