आफ्नो अधिकार खोज्दा कर्तव्य पनि बिर्सन नहुने मंगलबार नेपालगन्जमा आयोजित मानवअधिकार सम्बद्ध कार्यक्रमका वक्ताहरूले बताएका छन् । ‘अधिकार र कर्तव्य जोडिएको विषय हो, अधिकार माग्ने तर कर्तव्य निर्वाह नगर्ने कार्य हुनुहुँदैन’, राष्ट्रिय मानव अधिकार आयोगको २५ औ बार्षिकोत्सवको क्रममा नेपालगन्जमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरूले भने, ‘आयोगले परेका उजुरी फस्र्यौट पूर्ण रूपमा गर्न सकेको छैन, त्यसमा जनशक्ति र पूर्वाधार अभाव रहेको छ, आयोगका सिफारिस कार्यान्वयन भैरहेको छैन, आयोगका सिफारिस कार्यान्वयन हुनुपर्छ ।’
कार्यक्रमको अध्यक्षता गरेकी आयोगको नेपालगन्ज कार्यालयका कार्यालय प्रमुख द्वारिका कुमारी अधिकारीले मानवअधिकारको संरक्षण सबैको दायित्व भएको बताइन् । उनले सबैको साथ र सहयोग आयोगका लागि आवश्यक रहेको धारणा राख्दै आयोगको एक्लो प्रयासले मात्रै मानवअधिकारको संरक्षण हुन नसक्ने बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले कानुनको पालना सबैले गरे सबैको मानव अधिकार संरक्षण हुने बताएका थिए । उनले अधिकार खोज्दा कर्तव्य पालना आवश्यक रहेको औंल्याउँदै कर्तव्य बोध गराउन आवश्यक रहेको धारणा राखेका थिए ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधिश चन्द्र बहादुर सारुले मानवअधिकारको संरक्षणका लागि छिटो न्यायिक प्रक्रिया टुङ्ग्याउन आफ्नो पहल रहेको बताएका थिए । उनले आफु आउँदा भैरहेको न्यायिक ढिलाई आफु आएपछि व्यवस्थित गर्दै छिटो न्यायिक प्रक्रियाको टुंगो लगाएको आशय व्यक्त गरेका थिए । ‘हाल एक बर्ष नाघेका २० वटा मुद्दा मात्रै फस्र्यौटका लागि बाँकी रहेका छन्’, उनले उच्च अदालतले गरिरहेको कार्यबारे जानकारी दिंदै भने, ‘नजिकै रहेको जिल्ला अदालतका फैसला लिन १४÷१५ महिना लाग्थ्यो, अहिले त्यो अवस्था छैन ।’
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधिश सारुले मानव भएर जन्म लिएपछि नै उसको मानव अधिकार हुने बताएका थिए । ‘भ्रुणदेखि मानवअधिकार हुनुपर्छ’, उनले भने, ‘तर अधिकार खोज्दा कर्तव्य पालना पनि हुनुपर्छ ।’ उनले मानव अधिकारको विषयमा धेरै वकालत भएपनि कर्तव्यका बारेमा गाउँगाउँ पुगेर जानकारी गराउन आयोगलाई सुझाव दिएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सरकारी कर्मचारीको मानवअधिकार हुने नहुने प्रश्न तेस्र्याएका थिए । उनले सामाजिक सञ्जालमा मनपरी लेखिने गरेको उल्लेख समेत गरेका थिए । प्रजिअ जोशीले आफ्नो अधिकारको खोजी गर्दा अरूको अधिकार हनन नहुनेमा नागरिक सचेत हुनुपर्ने बताएका थिए । ‘मानव अधिकार आयोग छ अब कर्तव्य अधिकार आयोग स्थापना गर्न आवश्यक छ’, उनले भने । प्रजिअ जोशीले अदालतको फैसला विरुद्ध समेट टिकाटिप्पणी हुने, प्रदर्शन हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
इन्सेकका भोला महतले आयोगले काम गरिरहेपछि भौतिक पूर्वाधार र जनशक्ति अभावमा उजुरीको फस्र्यौट गर्न नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए । महतले आयोग क वर्गमा पर्नु राष्ट्रकै उपलब्धी भएको औंल्याउँदै त्यहाँसम्म पुग्दासम्मको संघर्ष र त्यसको विश्लेषण आवश्यक रहेको औंल्याएका थिए ।
त्यस्तै, फेडो बाँकेका अध्यक्ष निर्मला सुनारले आयोगले अझै जोडदार रूपमा पीडितका सवाल उठाउनु पर्ने बताइएकी थिइन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले आयोग राजनीतिक प्रभावमा हुन नहुने र स्वतन्त्र रूपमा काम गर्नुपर्ने धारणा राखेका थिए । उनले आयोगले आफ्ना कामको समीक्षा गर्दै अगाडि बढ्नु पर्ने बताए ।
आयोगका अधिकृत धनराज शाहीले उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन अधिकृत दयाराम पाठकले गरेका थिए । कार्यक्रममा बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ति, बज्रदल गणका सेनानी मोहन केसी, कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक नारायण सुवेदी, सशस्त्र प्रहरी बल नं ३० गणका सशस्त्र प्रहरी नायव उपरीक्षक दिपक चन्द, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।