ब्राउन सुगरसहित प्रहरी फन्दामा तीन युवा

लागु औषधविरुद्ध क्रियाशील प्रहरीका फन्दामा दिनहुँजसो युवाहरु परिरहेका छन् । त्यसक्रममा नेपालगन्जबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ परेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार, छुट्टाछुट्टै प्रहरी कारबाहीमा तीन युवा फन्दामा परेका हुन् । उनीहरुसँग लागुऔषध बरामद गरिएको छ ।

नेपालगन्जको वडा नम्बर ८ का २५ वर्षीय सरीफ कवाडियालाई २७ ग्राम ४३० मिलिग्राम ब्राउनसुगर (खैरो हेरोइन) सहित प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार साँझ नेपालगन्ज लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र सुर्खेत लागुऔषधको टोलीले कवाडियाको घर खानतलासी गर्ने क्रममा उक्त २७ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । उनको साथबाट डिजिटल तराजु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । खैरो हेरोइनको कारोबार भइरहेको विशेष सूचना पाएर पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको टोलीले मंगलवारनै भारतको रुपैडिहाबाट नेपालतर्फ आउँदै गरेका दुई युवालाई चेकजाँच गर्ने क्रममा नेपालगन्ज–१५ जमुनाहा नाकाबाट उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।

नेपालगन्ज–२१ का २० वर्षीय समीर खान र सोही स्थानका २१ वर्षीय कस्मिन सिंह ठकुरीलाई ९ ग्राम १९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोले उनीहरु सवार भे १० प ४९३६ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएर बरामद गरिएको खैरो हेरोइन र पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी बाँकेको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खैरो हेरोइनसहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।

Exit mobile version