‘ट्राभल मार्ट’ तयारी

पश्चिम नेपालको पयर्टनमा दूरगामी प्रभाव पार्ने उद्देश्यका साथ नेपालगन्जमा आयोजना गरिंदै आएको ‘वेष्टर्न ट्राभल मार्ट’को तेस्रो संस्करण हुने भएको छ । त्यसको तयारीमा जुटेका नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले मार्टको आयोजना निश्चित भएको जानकारी दिंदै यसपटक ‘फ्याम ट्रिप वीथ सेल्स मिसन’ हुने बताए ।

मार्टका लागि सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी आवश्यक तयारीको काम भैरहेको हो । ‘हामी अन्तिम तयारीमा छौं’, नाट्टा बाँके च्याप्टरका सचिव भागिराम ओलीले छिट्टै त्यसको तिथि र स्थान घोषणा गर्ने जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘यो आयोजनाले पश्चिम नेपालको पर्यटन विकास र बिस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

विभिन्न निकायसँगको साझेदारीमा नाट्टा बाँके च्याप्टरले यसअघि वेष्टर्न ट्राभल मार्टका दुई वटा संस्करण सफलतापूर्वक आयोजना गरिसकेको छ । यसपटक नेपाल पर्यटन बोर्ड र नेपाल सरकारका विभिन्न निकायसँगको साझेदारीमा विभिन्न टुर प्याकेजहरू सहित मार्टको तेस्रो संस्करण गर्न लागिएको मूल आयोजक समितिका संयोजक सिग्देलले जानकारी दिए ।

‘जहाँ भारत लगायत विभिन्न ठाउँका टुर अपरेटरहरू बि टु बि देखि पर्यटकीय भ्रमणका प्याकेज समेत लिएर मार्टमा सहभागी हुनेछन्’, नाट्टा बाँके च्याप्टरका अध्यक्ष समेत रहेका सिग्देलले आयोजक मूल समितिका संयोजक सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘टुर अपरेटर मात्रै होइन ब्लगर र सोशियल मिडिया इन्फ्लुयन्सरदेखि भारतीय पत्रकारहरू समेतको सहभागितामा नेपालका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका कार्यक्रम गरिनेछन् ।’ त्यसका लागि उनीहरूसँग सहभागिताको टुंगो लगाउने काम भैरहेको जानकारी दिंदै संयोजक सिग्देलले यसखालको आयोजनाले बर्षभरी नै विशेषतः भारतीय पर्यटकहरू नेपाल ल्याउने वातावरणको ढोका खुल्ने बताए । ‘हाम्रा अघिल्ला आयोजनाले सकारात्मक प्रभाव पारिरहेको छ’, सिग्देलले भने, ‘यो निरन्तरताले हाम्रो पर्यटकीय अभियानलाई समृद्ध पार्नेछ ।’

Exit mobile version