आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार दुई सय करदातालाई निलम्बन गरेको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख, प्रमुख कर अधिकृत पूर्ण प्रसाद न्यौपाने दुई हजार दुई सयको हाराहारीमा मूल्य अभिवृद्धि करदाताले विवरण बुझाएका थिएनन् । ‘विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको छ भने खरिद बिक्री नगर्न उपभोक्तालाई जानकारी गराइएको छ’, प्रमुख कर अधिकृत न्यौपानेले भने ।
यसअघि विभागले मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा १७ को उपदफा ८ मा लगातार छ महिनासम्म कर विवरण पेस नगर्ने करदताको नाम सार्वजनिक गरिएको थियो । यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्य अभिवृद्धिकर दर्ता निलम्बन गरिएको हो । निलम्बित करदाताले आफ्नो कारोबार सञ्चालन राख्नुपरेमा बाँकी सबै कर विवरण पेस गर्नुपर्छ ।
बाँकेमा ८ हजार बढी मूल्य अभिवृद्धि करदाता रहेका छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूले बेवास्ता गर्दा विभागको निलम्बन कारबाही भोग्नुपरेको हो । करदाताले नबुझेर होइन, कतिपयको कारोबार नभएर पनि होला तर ज्ञान नभएको भन्ने होइन तर लापरवाही गर्दा सरकारले कडाई गरेको हो । कर विभागले देशभरका ९५ हजार ३४९ जना करदाताको नामावली सार्वजनिक गर्दै निलम्बन गरेको थियो ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख, प्रमुख कर अधिकृत पूर्ण प्रसाद न्यौपानेले यसअघि कानुन अस्पष्ट हुँदा यसखालको कारवाही नभएपछि अब ऐन, नियम स्पष्ट भएकाले निलम्बनको कारवाही हुँदै जाने बताउँछन् ।
‘मुअकर निलम्बर भएका फर्मसँग कुनै किसिमको कारोबार गर्नु हुँदैन, यसले कारोबार गर्नेलाई पनि समस्या हुन्छ’, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख, प्रमुख कर अधिकृत न्यौपानेले भने, ‘त्यसैले कारोबार गर्दा आन्तरिक राजश्व कार्यालयको वेभ साइटमा गएर कारोबार गर्ने फर्मको मुअकर चेकजाँच गर्नुपर्छ, हामीले त्यसबारे पत्राचार सँगै सूचना पनि जारी गरिरहेका छौं ।