नेपालगन्जमा सम्पन्न वेस्टर्न ट्राभल मार्ट आयोजक मूल समितिका संयोजक श्रीराम सिग्देलले मार्टमा भएको खर्च र हिसाबकिताब १५ दिनभित्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै संयोजक सिग्देलले मार्टको बजेटका सम्बन्धमा बाहिर आएका विषयहरु निराधार भएको भन्दै विज्ञप्तिमा बजेट र स्रोत समेत सार्वजनिक गरेका छन् ।
संयोजक सिग्देलले मार्ट सफल बनाउन सहयोग पु¥याउनुहुने पर्यटन सम्बद्ध, उद्योगी व्यवसायी, नेपालगन्ज उपमहानगरपालिका, स्थानीय प्रशासन, प्रहरी, सञ्चारकर्मी, व्यवस्थापन समिति र सम्पूर्ण जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
‘नेपालगन्ज, जेठ २८ः पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नाट्टा बाँके च्याप्टरको अगुवाइमा स्थापित वेस्टर्न ट्राभल मार्टको २०२५ संस्करण नेपालगन्जमा सफलतापूर्वक सम्पन्न भएको छ’, प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल पर्यटन बोर्डको वार्षिक क्यालेन्डर अन्तर्गत आयोजना हुने यस मार्टले क्रस बोर्डर टुरिज्म, परिचयात्मक भ्रमण र बिटुबी व्यवसाय आदानप्रदानलाई विशेष जोड दिएको थियो ।’
‘यस वर्षको वेष्टर्न ट्राभल मार्ट आयोजनाका लागि नेपाल पर्यटन बोर्डबाट २६ लाख रुपैयाँ र नेपालगन्ज उपमहानगरपालिकाबाट कर सहित ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो’, विज्ञप्तिमा उल्लेख छ, ‘तीन देखि चार दिनसम्म चलेको यस मार्टमा पर्यटन क्षेत्रका साझेदार संस्थाहरू, उद्योग वाणिज्य संघ र स्थानीय सरकारका प्रतिनिधिहरूबीच औपचारिक तथा अनौपचारिक छलफलहरू गरिएका थिए ।’
मार्ट आयोजनाको मुख्य उद्देश्य आयोजक क्षेत्रको होटल प्रपर्टी, पर्यटकीय प्रतिष्ठान, पर्यटकीय गन्तव्य, पर्यटकीय उत्पादन, स्थानीय कला संस्कृति र रैथाने स्वादबारे देश तथा विदेशका टुर अपरेटर र पत्रकारहरूलाई जानकारी गराउनु रहेको आयोजक मूल समितिका संयोजक श्रीराम सिग्देलले जानकारी दिए ।
नाट्टा बाँकेले हरेक मार्टको अवसरमा नेपालगन्जका लागि थप पर्यटकीय उत्पादनहरू ल्याउने प्रयास गर्दै आएको छ । बिटुबी २०२३ मा बागेश्वरीमा महा आरती र मानसरोवर माउन्टेन फ्लाइटको सुरुवात गरिएझैँ, यस वर्ष २०२५ मा नेपालगन्जको त्रिभुवन चोकमा ’स्ट्रीट फुड’ को सम्भावना खोजी गरिएको संयोजक सिग्देलले बताए ।
नेपालगन्ज फुडलेनका लागि नेपालगन्ज उपमहानगरबाट १ लाख र पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशबाट कर सहित ३ लाख रुपैयाँ विनियोजन गरिएको थियो। यद्यपि, यसको समीक्षा र भावी रणनीति तय गर्न बाँकी रहेको बताइएको छ ।