नेपालगन्जमा ‘डिजिटल नवप्रवर्तन रूपान्तरण २०२५’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

लुम्बिनी प्राविधिक विश्वविद्यालयको आयोजनामा नेपालगन्जमा ‘डिजिटल नवप्रवर्तन रूपान्तरण २०२५’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

नेपालका विभिन्न विश्वविद्यालयका उपकुलपति, डीन, प्राध्यापक, विषयविज्ञ तथा प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश लोक सेवा आयोगका अध्यक्ष, विश्वविद्यालयका सेवा आयोगका सदस्य तथा ख्यातीप्राप्त विभिन्न विश्वविद्यालयका प्राध्यापक लगायत विषयगत विद्यार्थीहरूको सहभागितामा सम्पन्न भएको हो ।

लुम्बिनी सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गनर्’ भएको उक्त सम्मेलनको उद्देश्य माथि प्रकाश पार्दै लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा. निरज केसीले यस क्षेत्रमै यो विश्वविद्यालय नयाँ भएका कारण यहाँका विद्यार्थीहरूलाई डिजिटल नवप्रवर्तन र रूपान्तरणका बारेमा जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । नेपालका अन्य विश्वविद्यालय, निजी क्षेत्रका प्रविधि उद्योग, सरकारी क्षेत्र लगायतले यस सम्बन्धी के कसरी कामहरू गरिरहेका छन् भन्ने कुरा प्रत्यक्ष रूपमा विषयगत विद्यार्थीहरूलाई जानकारी गराएर उनीहरूलाई यस क्षेत्रको भविष्यका बारेमा जानकारी दिनका लागि सम्मेलनको आयोजना गरिएको उनले बताए । उनले भने, ‘हामीले यस क्षेत्रका विद्यमान अवसर, चुनौती तथा भविष्यका बारेमा हाम्रा विद्यार्थीहरूलाई जानकारी गराउनका लागि प्रत्यक्ष रूपमा अन्य विश्वविद्यालयका विषयविज्ञ, प्राध्यापक, प्रविधि उद्योगका प्रतिनिधि मात्रै नभएर विश्वका ख्यातीप्राप्त विश्वविद्यालयका विषयविज्ञ समेतलाई अनलाइन माध्यमबाट प्रत्यक्ष सहभागी गराएका छौँ ।’ उनले ‘यो कार्यक्रमले हाम्रा विद्यार्थीहरूलाई यसक्षेत्रमा के के अवसर, चुनौती तथा भविष्य छ भन्ने कुराको राम्रोसँग ज्ञान हुने विश्वास हामीले गरेका छौं ।’ नेपालमा नवप्रवर्तनलाई अन्य क्षेत्रले कसरी अपनाइरहेका छन्, यसबाट के पायौँ, के पाएनौँ, यसलाई आत्मसात् गरेर कसरी अगाडि बढ्न सकिन्छ, विद्यार्थी, विश्वविद्यालय, प्रविधि उद्योगलाई कसरी समायोजन गरेर अगाडि बढ्न सकिन्छ भन्ने कुराको ज्ञान आदानप्रदान गर्नका लागि यो सम्मेलन महत्वपूर्ण हुने बताए । यस क्षेत्र सम्बन्धी उद्योगहरूसँग एमओयु गरेर विद्यार्थीहरूले सेयरिङ, समस्या आएमा सोलुसन तथा नयाँ प्रविधिसँग आबद्ध हुन सहयोग हुने उनको भनाइ छ ।

त्यसैगरि विश्वविद्यालयका कुल सचिव रेगबहादुर भण्डारीले डिजिटल प्रविधिहरूको उपयोग गरी नवीनतम र समावेशी भविष्य निर्माण गर्ने साझा दृष्टिकोणले एकैथलोमा विद्यार्थी, विद्वान, विषयविज्ञ, नवप्रवर्तक कर्ताहरू, नीति निर्माताहरू र उद्योगीहरू भेला भई सामूहिक छलफल गरिएको बताए । उनले क्षमता विकास, कार्यशाला गोष्ठी, सेमिनार, सिपोइजम, सम्मेलनको माध्यमबाट प्रविधि एवम् ज्ञानको निर्माण र हस्तातरण गर्ने प्लेटफर्मको रूपमा सम्मेलनलाई लिएको बताए ।

कुल सचिव भण्डारीले भने, ‘हामीले यसअघि सन् २०२३ र २०२४ मा कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङमा अन्तर्राष्ट्रिय संगोष्ठीहरू सफलताका साथ आयोजना गरिसकेका छौँ र यसपटक यो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पाउँदा हामी उत्साहित छौँ, जुन डिजिटल नवप्रवर्तनको रूपान्तरणकारी सम्भावनालाई अन्वेषण गर्ने एक ऐतिहासिक घटना बन्ने भन्ने विश्वास गर्दछौँ ।’ उहाँले ‘यस वर्षको विषयवस्तु ‘डिजिटल नवप्रवर्तन र रूपान्तरण’ले अत्याधुनिक अनुसन्धानलाई अगाडि बढाउने, विश्वव्यापी सहकार्यलाई प्रोत्साहन गर्ने साथै डिजिटल युगका अवसरहरूलाई सूचना प्रविधिको विकासमा परिणत गर्ने हाम्रो प्रतिबद्धता छ ।’ उनले विश्वले कृत्रिम बुद्धिमत्ता, ब्लकचेन र डिजिटल इकोसिस्टम जस्ता प्रविधिमा तीव्र प्रगति गरिरहँदा, यो सम्मेलनमा हुने विचारहरूको आदानप्रदान, नवीन अनुसन्धान साझेदारी र डिजिटल रूपमा सशक्त समाजको मार्गचित्र तयार गर्ने महत्वपूर्ण मञ्च हुने र नवप्रवर्तन मार्फत अर्थपूर्ण परिवर्तन ल्याउने सामूहिक समर्पणको प्रतिबिम्ब भएको उल्लेख गरे ।

उद्घाटन सत्रको वीचमा लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य तथा वरिष्ठ साहित्यकार प्रा.डा. कृष्ण प्रसाद घिमीरेले सान्दर्भिक कविता वाचन गनर्’ भएको थियो । उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयका उपकुलपतिहरू, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयका डिन, प्राध्यापक, विषयविज्ञ तथा प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश लोक सेवा आयोगका अध्यक्ष, विश्वविद्यालयका सेवा आयोगका सदस्य लगायतले विद्यार्थीहरूसँग सामूहिक छलफल गरेका थिए ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति विनोद प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा विश्वका ख्यातीप्राप्त विश्वविद्यालयका प्राध्यापकहरूले विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गरेका थिए । कार्यपत्रका बारेमा प्राध्यापकहरूसंग अनलाइन प्रविधि मार्फत् सहभागीहरूले प्रत्यक्ष रूपमा प्रश्नोत्तर गरेका थिए । सम्मेलनमा सहभागी विश्वविद्यालयका विद्यार्थीहरूले विभिन्न देशका विश्वविद्यलायका प्राध्यापकहरूसँग प्राविधिक शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न जिज्ञासाहरू पनि राखेका थिए ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमीरेका अनुसार अन्तर्राष्ट्रिय सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका डिन प्राडा मनिष पोखरेल, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा बेदराज केसी, त्रिभुवन विश्वविद्यालयका निर्देशकद्वय प्राडा सुवर्ण शाक्य डा. प्रकाश दत्त भट्ट, त्रिभुवन विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर केशज पौडेल, काठमाडौँ विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर प्राडा सुदन झा, अष्ट्रेलिया सिड्नी विश्वविद्यालयका डा. आभाश जोशी, नेदरल्याण्ड आईटिसीका असिस्ष्टेन्ट प्रोफेसर अशोक दाहाल, रानका अध्यक्ष विकास गुरुङ, क्यान महासंघका पुर्व उपाध्यक्ष सञ्जय थापा लगायत दर्जन बढीले प्रत्यक्ष र अनलाइन माध्यमबाट आ–आफ्नो विषयगत प्रस्तुती गरेका थिए ।

लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत २०७९ असोज १८ गते नेपालगन्जमा स्थापना भएको सो विश्वविद्यालयले २०८० साल मंसिर १३ गते पहिलो अभिमुखीकरण कार्यक्रम गरेर स्नातक तहको पढाइ सञ्चालन गरेको थियो । विश्वविद्यालयले हाल बिटेक इनआइटी, बिटेक इन कम्प्युटर साइन्स एण्ड एआई, बिटेक इन आइटी इन्जिनियरिङ र बिटेक इन सिभिल इन्जिनियरिङ गरी चार वटा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

असार महिनादेखि स्नातकोत्तर तहमा अध्यापन सञ्चालन गरिने ः

लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमीरेका अनुसार गुणस्तरीय शिक्षा, उपलब्धिमूलक शिक्षा, जागीरको सुनिश्चितता सहितको शिक्षा तथा देश र समाजका लागि उत्तरदायी विद्यार्थी उत्पादन गर्ने शिक्षा प्रदान गर्ने लक्ष्य लिएको विश्वविद्यालयले स्थापनाको छोटो समयमै आगामी असार महिनादेखि स्नातकोत्तर तहमा एम टेक इन आइटी र एम तहको अध्यापन सञ्चालन गर्न लागेको छ । पहिलो पटक सञ्चालन गर्न लागिएको स्नातकोत्तर तहमा लक्ष भन्दा बढी यस क्षेत्रका विद्यार्थीलहरूले आवेदन दिएको उनले जानकारी दिए ।

प्रा.डा. घिमीरे करीब डेढ वर्षसम्म नेपालगन्जमा रहेको प्रशासनिक भवनमै पढाइ सञ्चालन गरेको विश्वविद्यालयले गत पुस महिनादेखि भने नेपालगन्जको धम्बोझी स्थित कृषि विकास बैङ्कको क्षेत्रीय कार्यालयको तीन वटा भवन भाडामा लिएर सोही भवनमा पढाइ सञ्चालन गरिरहेको बताउनु भयो । इन्जिनियरिङ तथा सूचना प्रविधिको डीनको कार्यालय समेत यहीँबाट सञ्चालन भएको छ भने बैङ्कसँग पाँच वर्षका लागि उक्त भवनहरू भाडामा लिने सम्झौता गरेको हो ।

२०८० साल मङ्सिर १३ गते पहिलो अभिमुखीकरण कार्यक्रम गरेर स्नातक तहको पढाई सञ्चालन गरेको उक्त विश्वविद्यालयले हाल बिटेक इन आइटी, बिटेक इन कम्प्युटर साइन्स एण्ड एआई, बिटेक इन आइटी इन्जिनियरिङ र बिटेक इन सिभिल इन्जिनियरिङ गरी चार वटा कार्यक्रम अध्ययन अध्यापन गराइरहेको छ । विश्वविद्यालयमा हाल १६५ जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । पहिलो ब्याचका विद्यार्थीहरूले अहिले चौथो सेमेस्टरमा अध्ययन गर्दैछन् । आठ सेमेष्टरको कक्षा सञ्चालन हुने कार्यक्रमहरू सबै चार वर्षे हुन् ।

Exit mobile version