मानवअधिकाररुपी अवधारणा सम्बन्धी क्षमता अभिवृद्धि तालिम

इन्सेक नेपालगन्जले डिसिए नेपालको आर्थिक सहयोगमा बुधबार नेपालगन्जमा मानवअधिकाररूपी अवधारणा सम्बन्धी क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । नागरिक समाजका प्रतिनिधि, मानवअधिकार रक्षक, वातावरण सम्बन्धी रक्षक तथा मानवअधिकार समूहका सदस्यको सहभागितामा आयोजित कार्यक्रममा वक्ताहरूले मानवअधिकारको रक्षाका लागि बुझ्ने र बुझाउने तथा अधिकारका लागि आवाज उठाउन आवश्यक रहेको बताएका थिए ।

‘पहिले आफु बुझौं, अनि बुझाऔं र मानवअधिकार सम्बद्र्धनका लागि काम गरौं’, कार्यक्रममा प्रस्तुति राख्ने तथा सहभागीहरूको भनाइ थियो, ‘मानवअधिकारको क्षेत्र बिस्तृत छ, संविधान, ऐन, कानुनमा धेरै व्यवस्था छ, तर त्यसको कार्यान्वयन निकै कमजोर पाइन्छ, कार्यान्वयनका लागि आवाज उठाउन जरुरी छ ।’

कार्यक्रममा आयोजक इन्सेक नेपालगन्जका प्रमुख भोला महतले समयसँगै मानवअधिकारको प्राथमिकताका सवाल बिस्तृत हुँदै गएको र त्यसबारे जानकार हुन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख द्वारिका अधिकारीले मानवअधिकारको सवाल, आयोगको जिम्मेवारी, भूमिका लगायतका बारेमा प्रस्तुति दिएकी थिइन् । उनले आयोगले गर्ने सिफारिसहरू न्यून कार्यान्वयन हुने गरेको उल्लेख गर्दै सरकारले आयोगको सिफारिस कार्यान्वयनमा वेवास्ता गर्दा त्यसले आयोगको औंचित्यमा समेत प्रश्न उठ्ने गरेको बताएकी थिइन् । ‘राज्यका निकायबाट सम्बोधन हुनुपर्ने, सुनुवाई हुनुपर्ने विषय नभए आयोगका उजुरी दिन सकिन्छ, आयोगले सरकारी निकायलाई सिफारिस गर्छ’, उनले भनिन्, ‘सिफारिस कार्यान्वयन गर्न नसक्ने अवस्थामा दुई महिना भित्र कारण सहित आयोगलाई जवाफ दिनुपर्ने व्यवस्था छ, तर त्यसो भएको छैन ।’

आयोगका नेपालगन्ज प्रमुख अधिकारीले संविधान, ऐन, कानुनले व्यवस्था गरेका मानवअधिकारका सवाल कार्यान्वयनमा सरकार उदासिन रहेको बताएकी थिइन् । उनले आम नागरिक मात्रै नभई थुनुवा, कैदीबन्दी, कैदीबन्दीसँगै रहने बालबालिकाको मानवअधिकार कानुनले सुनिश्चित गरेको बताइन् । मानवअधिकारको सवालमा बिस्तृत रूपमा अधिकारबारे जानकारी दिएकी उनले राज्यलाई जिम्मेवार बनाउन आवश्यक रहेको धारणा राखिन् ।

आयोगका नेपालगन्ज प्रमुख अधिकारीले मानवअधिकार रक्षकको सुरक्षा, पेशागत सुरक्षा हुन नसकेको, संक्रमणकालीन न्यायको विषय अझै नटुगिएको लगायतका विषय आफ्नो प्रस्तुतिमा राख्दै त्यस्ता विषयले दण्डहीनता बढाउने गरेको धारणा राखिन् ।

मानवअधिकारकर्मी रविन्द्र कर्णले मानवअधिकाररूपी अवधारणाको सिद्धान्त, प्रक्रिया र अभ्यासहरू बारे प्रस्तुति राख्दै शिक्षा, स्वास्थ्य, विकास निर्माणमा सहभागिता लगायतका विषय उठाएका थिए । ‘अधिकारका लागि नागरिक, मानवअधिकार रक्षक पनि सचेत भएर आवाज उठाउनु पर्छ’, उनले भने ।

इन्सेकका अधिकृत टेकनाथ आचार्यले मानवअधिकारको व्यवहारिक प्रयोग सम्बन्धी अनुभवन आदानप्रदान प्रदान गर्दै कार्यक्रमका सहभागीसँग अन्तरक्रिया गरेका थिए । उनले मानवअधिकारका सवालमा उठेका जिज्ञासा र त्यसलाई सम्बोधन कसरी गर्ने, गराउने र नागरिक तथा मानवअधिकार रक्षकले कसरी भूमिका खेल्न सकिन्छ भन्ने जानकारी दिएका थिए । ‘अधिकारका बारेमा राज्यलाई झक्झाइरहनु पर्छ, बुझ्नु पर्छ, बोल्नु पर्छ’, उनले भने ।

विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, ज्येष्ठ नागरिक लगायतको सहभागिता रहेको कार्यक्रममा इन्सेककी लक्ष्मी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version