अव्यवहारिक कर नीति खारेज नभए व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी, पसलमा लाग्यो ताला
नेपालगन्जका सुनचाँदी तथा हस्तकला व्यवसायीहरूले सरकारले २०८२/८३ को बजेट वक्तव्यमार्फत ल्याएका अव्यवहारिक कर नीति तत्काल खारेज गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ आबद्ध विभिन्न पाँच संस्थाका जिल्लास्थित प्रतिनिधिले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) खारेज नगरिए व्यवसाय नै बन्द गरी आन्दोलनमा उत्रने चेतावनी दिइएको छ।
नेपालगन्ज सुनचाँदी व्यवसायी संघका महासचिव सुखनारायण सोनारका अनुसार, आफ्नो पसल व्यवसाय बन्द गरेर सडकमा उत्रिएका उनीहरू नाराजुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, यी नयाँ कर नीतिले व्यवसायी मात्र नभई आम उपभोक्तालाई पनि प्रत्यक्ष असर पार्नेछ। “यदि यो व्यवस्था लागू भएको खण्डमा समग्र सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला व्यवसायी आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुग्ने निश्चित छ,” ज्ञापनपत्रमा भनिएको छ।
व्यवसायीहरुले सरकारी नीतिविरुद्ध हस्ताक्षर संकलन पनि गरेको महासचिव सोनारले जानकारी दिए ।
व्यवसायीहरूले सुनमा लगाइएको २ प्रतिशत विलासिता करलाई ‘बहु कर प्रणाली’ (राउन्ड ट्रिपिङ) को संज्ञा दिएका छन्। उनीहरूका अनुसार, यो करले ग्राहकका लागि कम्तीमा ६ प्रतिशतसम्म थप मूल्यको भार पर्न जान्छ। उदाहरणका लागि, २ लाख रुपैयाँको सुन खरिद गर्दा ग्राहकले १२ हजार रुपैयाँसम्म थप तिर्नुपर्ने अवस्था आउँछ।
“यसै त सुनको मूल्य आकासिएर मन्दी भइरहेको समयमा बजेटको यो वर्तमान व्यवस्थाले सुन बजारलाई अझ महामन्दीतर्फ अग्रसर बनाउने देखिन्छ,” ज्ञापनपत्रमा उल्लेख छ। यसले सुनको बिक्री र खरिद दरको अन्तरलाई अझ फराकिलो बनाउने र उपभोक्तालाई सुन फिर्ता बिक्री गर्दा थप १२ हजार रुपैयाँसम्म घाटा हुने हुँदा सुन किन्न आकर्षित नहुने
उनीहरूको भनाइ छ।
सुनका गरगहना धनी वर्गको मात्र नभई मध्यम र निम्न वर्गका लागि पनि सामाजिक संस्कार, संस्कृति र सुरक्षित बचतको माध्यम भएकोले यसमा विलासिता कर लगाउनु न्यायोचित नभएको व्यवसायीहरूको तर्क छ।
देवानी संहिता २०७४ ले सुनलाई नगद सरहको सम्पत्तिको रूपमा परिभाषित गरेकोले यसमा विलासिता कर लगाउनु अनुचित भएको उनीहरूले जोड दिएका छन्।
हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि करले आम उपभोक्तामा थप महँगीको भार थोपरेको व्यवसायीको गुनासो छ।
सुनचाँदीका गहनामा पत्थर जडान गर्दा पत्थरमा भ्याट लाग्ने र त्यसबाहेक मिश्रित उत्पादनमा पुरै मूल्यमा १३ प्रतिशत भ्याट लागू हुने हुँदा सुनका गरगहनामा घुमाउरो पाराले कुल १९ प्रतिशतसम्मको मूल्य वृद्धि हुने उनीहरूको दाबी छ। यसबाट एक तोलाको पत्थर जडित सुनका गहनाको मूल्य ३८ हजार रुपैयाँको हाराहारीमा बढ्ने अनुमान गरिएको छ।
“एउटै गहनामा विलासिता कर र भ्याट लागू हुने भएपछि दोहोरो कर लागू हुने भएको छ, जसलाई कुनै पनि अर्थमा न्यायोचित मान्न सकिँदैन,” ज्ञापनपत्रमा भनिएको छ।
यस प्रकारको मूल्य वृद्धिले नेपालको खुला सिमानाबाट सुनका गरगहनाको अवैध आयातलाई प्रोत्साहन मिल्ने र यसले २५ हजार भन्दा बढी व्यवसायी, ३ लाख भन्दा बढी कालीगढ तथा मजदुर र १५ लाख आश्रित व्यक्तिको रोजीरोटी धरापमा पर्ने निश्चित रहेको व्यवसायीहरूले बताएका छन्।