जाजरकोट भूकम्पको पीडामा आधारित तस्बिर ‘वर्ष फोटो’

नेपालगन्ज फोटो फेस्टिभलको चौथो संस्करण नेपालगन्जमा आयोजना गरिएको छ ।

अन्तरालको आयोजनामा दुई दिने यो कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ का संघीय सांसद किशोर राठौरले गरे । उनले ‘वर्ष फोटो’ घोषित पत्रकार आर्यन धिमालको जाजरकोट भूकम्पपछिको एक महिलाको आँशु भरिएको क्षण समेटिएको तस्बिरको फोटो खिचेर फेस्टिभलको औपचारिक शुभारम्भ गरेका हुन् ।

त्यसक्रममा सांसद राठौरले यस्ता सिर्जनात्मक कार्यक्रम नेपालगन्जमा हुनु आफैँमा गौरवको विषय भएको बताए । उनले फोटो प्रदर्शनीले स्थानीय तथा राष्ट्रिय पर्यटन प्रवद्र्धनमा
महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा फेस्टिभललाई थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

आज विहीवारसम्म चल्ने यस वर्षको फेस्टिभल अन्तर्गत आयोजित नेसनल फोटो कन्टेस्ट, नेपाल २०८१ मा देशभरिबाट २ हजार १ सयभन्दा बढी फोटोहरू प्राप्त भएको आयोजकले जनाएको छ । तीमध्ये उत्कृष्ट १११ फोटोहरू फोटो प्रदर्शनीमा राखिएका छन् । प्रतियोगिता डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेसन, स्पोट्र्स, नेपाल स्माइल, एग्रीकल्चर, वाइल्ड लाइफ र न्यूज गरी नौ विधामा भएको थियो ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार, प्रतियोगितामा ‘वर्षको फोटो’को रूपमा आर्यन धिमालको जाजरकोट भूकम्पपछिको एक महिलाको आँशु भरिएको क्षण समेटिएको तस्बिर चयन भएको छ । उक्त तस्बिरले भूकम्पपछिको पीडा, जीवन संघर्ष र मानव संवेदनालाई मार्मिक ढंगले प्रस्तुत गरेको भन्दै निर्णायक समितिले यो तस्बिरलाई सर्वोत्कृष्ट ठहर गरेको हो । सर्वोत्कृष्ट उक्त तस्बिरका
लागि पत्रकार धिमाललाई नगद ५१ हजार १ सय ११ रूपैयाँ पुरस्कार दिइने छ ।

एग्रीकल्चर विधामा बबी साई, कल्चरमा सञ्जय महर्जन, डेली लाइफमा विजय थापा, टुरिजम तथा नेचर एन्ड कन्जरभेसनमा रेमिन थारु, स्पोट्र्समा तिलक गाहामगर, नेपाल स्माइलमा जीवन लामा, वाइल्ड लाइफमा विनय रावल, टुरिजममा मनोज पौडेल र न्यूज विधामा बरम बुढाको तस्बिरलाई उत्कृष्ट घोषित गरिएको अन्तरालले जानकारी दिएको छ । अन्तरालका प्रमुख कार्यकारी शाहले यस वर्षबाट पहिलो पटक पिपुल च्वाइस अवार्ड पनि शुरु गरिएको बताए । ‘यो अवार्डको लागि भोटिङको व्यवस्था गरिएको छ, जसमा दर्शकहरूले
असार ५ गतेसम्म आफूलाई मन परेको तस्बिरलाई भोट गर्न सक्नेछन्,’ शाहले भने ।

फेस्टिभलका सबै पुरस्कारहरू आज समापन समारोहमा प्रदान गरिनेछ । सर्वोत्कृष्ट तस्बिरलाई नगद ५१ हजार १ सय ११ रूपैयाँ र प्रत्येक विधाका विजेतालाई नगद ५ हजार रूपैयाँ प्रदान गरिनेछ । त्यस्तै पिपुल च्वाइस अवार्ड विजेताले पनि नगद ५१ हजार १ सय ११ रूपैयाँ पुरस्कार पाउनेछ ।

फोटो प्रतियोगिताको मूल्याङ्कन वरिष्ठ फोटो पत्रकार विकास कार्की, रमेश मल्ल र केशवराज थोकर रहेको निर्णायक मण्डलले गरेको हो ।

अन्तरालका प्रमुख कार्यकारी शाहका अनुसार, नेपालगन्जको होटल सिटी प्यालेसमा भइरहेको फेस्टिभलमा फोटो प्रदर्शनीसँगै फोटोग्राफी तथा फोटो पत्रकारितासम्बन्धी छलफल र तालिम कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

शाहले नेपालगन्जपछि देशका विभिन्न सहरमा फोटो प्रदर्शन गरिने आफ्नो योजना सुनाए ।

Exit mobile version