लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म लुम्बिनीमा १७ लाख बढी काठ उत्पादन भएको छ । लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा लुम्बिनी प्रदेशमा कुल ४० लाख ३२ हजार ९ सय ५५ घनफिट काठ उत्पादन भएकोमा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म कुल १७ लाख १५ हजार १ सय ६३ घन मिटर काठ उत्पादन भएको हो ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म उत्पादन भएको काठ मध्ये अर्घाखाँची, गुल्मी र कपिलवस्तु डिभिजन वन कार्यालयबाट सबैभन्दा बढी क्रमशः ३०, १३ र १२ प्रतिशत काठ उत्पादन भएको देखिन्छ ।

लुम्बिनी प्रदेशमा ४ हजार ५२ सामुदायिक वन, ४ सय १६ कबुलियती वन, १ हजार १९ निजी वन, ३० धार्मिक वन, २ मध्यवर्ती क्षेत्र तथा ६ वन संरक्षण क्षेत्र रहेको छ । सामुदायिक वनले सबैभन्दा बढी ४ लाख ३२ हजार हेक्टर क्षेत्रफल ओगटेको छ ।

आर्थिक वर्ष २०८१÷८२ को चैत्र मसान्तसम्म लुम्बिनी प्रदेशमा कुल ४ हजार ४ सय ११ चट्टा दाउरा उत्पादन भएकोमा डिभिजन कार्यालय, बाँकेबाट सबैभन्दा बढी १ हजार २ सय ३३ चट्टा दाउरा उत्पादन भएको देखिन्छ । आर्थिक वर्ष २०८०÷८१ मा कुल १० हजार ६ सय ३९ चट्टा दाउरा उत्पादन भएको थियो ।

सन् २०२४ मा नेपालको वन क्षेत्र कुल भू–भागको ४६.०८ प्रतिशत पुगेको छ । सन् १९९० को दशकमा नेपालको कुल क्षेत्रको ३९.६ प्रतिशत वन क्षेत्र रहेकोमा सन् २०१५ मा ४४.७४ प्रतिशत र सन् २०१९ मा ४५.३१ प्रतिशत रहेको थियो ।

हाल नेपालमा वन क्षेत्रले ६३ लाख ९९ हजार ३ सय ४१ हेक्टर र झाडी–बुट्यान क्षेत्रले ३ लाख ९७ हजार ९ सय १६ हेक्टर भू–भाग ओगटेको छ ।

यसमध्ये कुल भू–भागको ४३.३८ प्रतिशत वन र २.७० प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कुल क्षेत्रफल ४६.०८ प्रतिशत रहेको छ । २०८१ असारसम्म वन क्षेत्रले ६१ लाख ६६ हजार ७ सय ६६ हेक्टर र झाडी–बुट्यान क्षेत्रले ५ लाख ३५ हजार १ सय ७९ हेक्टर भू–भाग ओगटेको थियो जसमध्ये कुल भू–भागको ४१.६९ प्रतिशत वन र ३.६२ प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कुल वन क्षेत्र ४५.३१ प्रतिशत रहेको थियो ।

Exit mobile version