जेठमा ४७ फरार, ३४ लागुऔषध सम्बन्धी अभियुक्त पक्राउ
बाँके जिल्लामा अपराध नियन्त्रण तथा कानून कार्यान्वयनको अभियान तीव्र गतिमा अगाडि बढिरहेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, जेठ महिनामात्रै ४७ जना फरार अभियुक्त पक्राउ परेका छन् । यी अभियुक्तहरू अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका थिए । उनीहरूलाई पक्राउ गरी अदालतमा पेस गर्नु भनेको सुरक्षा प्रणालीको प्रभावकारिता र नीतिगत प्रतिबद्धताको संकेत हो ।
फरार नियन्त्रणमा कडा नीति
प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्तीमगरका अनुसार, सरकारले सुरु गरेको फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत बाँकेमा प्रत्येक महिनामा झण्डै ५० जना फरारलाई पक्राउ गर्दै आएको छ । यसपटक पक्राउ परेका अभियुक्तहरूमार्फत एक करोड आठ लाख ८४ हजार २५५ रुपियाँ राजस्व समेत संकलन गरिएको छ, जुन कानूनी कार्यान्वयनसँगै आर्थिक अनुशासन कायम राख्ने संकेत हो ।
भन्सार छली र ट्राफिक उल्लंघनमा पनि नियन्त्रण
एसपी घर्तीमगरका अनुसार, प्रहरीले भन्सार छली गरी ल्याइएको ५२ लाख ३७ हजार ८८२ रुपियाँ बराबरको सामग्री नियन्त्रणमा लिएको छ, जसमा चार मोटरसाइकल, एक ई–रिक्सा र एक कार पनि रहेका छन्। यो कार्यले आर्थिक अपराध नियन्त्रणमा प्रहरीको सक्रियता देखाउँछ ।
यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने ३१७५ वटा सवारी साधनलाई कारबाही गरिँदा २५ लाख १२ हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ । यसले सडक सुरक्षाका लागि प्रहरीले अवलम्बन गरिरहेको शून्य सहनशीलताको नीतिलाई देखाउँछ । यद्धपि, ट्राफिक जरिवानामार्फत राजस्व असुलीमा केन्द्रीत रहेको आरोप जनमानसमा व्याप्त छ ।
लागुऔषध नियन्त्रणमा कडा कारबाही
तथ्यांकका प्रहरीको अर्को महत्वपूर्ण सफलता लागुऔषध नियन्त्रणमा देखिएको छ । एक महिनाको अवधिमा ७३८ ग्राम ब्राउनसुगर, ३०० मिलि लिटर कोरेक्स, १११ किलो गाँजा, तीन हजार सात ६० मिलिग्राम चरेश लगायतका अवैध पदार्थसहित ३४ जना व्यक्तिलाई पक्राउ गरिएको छ । यसले बाँकेजस्तो संवेदनशील सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबार र प्रयोग विरुद्धको प्रहरीको क्रियाशीलता झल्काउँछ । तर, यो विधिबाटमात्रै लागुऔषध नियन्त्रण सम्भव नहुने सम्बद्ध अभियन्ताहरुको बुझाइ छ । उनीहरु भन्छ्न, कारोबारीलाई कानुनको दायरामा ल्याउने र दुव्र्यसनविरुद्धको सचेतनालाई हदैसम्म अगाडी बढाउनु जरुरी छ ।
बाँके प्रहरीले एक महिनामा मात्रै फरार अपराधी नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, ट्राफिक नियम कार्यान्वयन र लागुऔषध नियन्त्रणमा जुन स्तरको सक्रियता देखाएको छ, त्यसले सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउने संकेत दिन्छ । यस्ता नियमित कारबाही र परिणाममुखी अभियानहरूले न केवल अपराध नियन्त्रणमा मद्दत पु¥याउँछन्, जनविश्वास सुदृढ गर्न समेत सहयोग पु¥याउँछन् ।