बाँकेका पालिका कहिले ल्याउँदैछन् बजेट ?

अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । बजेटका चरणमा ढिलाई भैरहेको बाँकेका स्थानीय तहले उक्त समयसीमामै बजेट र नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेका छन् । कोहलपुर नगरपालिकाले शनिबार नै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

नेपालगन्ज नगर उपप्रमुख कमरुद्दिन राईले असार १० गतेभित्रै बजेट र नीति तथा कार्यक्रम ल्याउने जानकारी दिए । ‘आइतबार बोर्ड बैठक बस्दैछ, त्यसले मितिका बारेमा निर्णय गर्छ’, उनले भने ।

राप्ती सोनारी गाउँपालिकाले यही असार १० गते गाउँसभाको १७ औं अधिवेशन गर्ने तयारी गरेको छ । सभाका अध्यक्ष तप्तबहादुर पौडेलले लुम्बिनी प्रदेशको गाउँ÷नगर सभाको (कार्यसञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम राप्ती सोनारी गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन असार १० गते मंगलबार दिउँसो १ बजे बस्नेगरी आब्हान गरेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले सूचना जारी गरी जानकारी दिएका छन् ।

गाउँ सभाको १७ औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, बाँकेको खजुरा गाउँपालिकाले पनि असार १० गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले एकै दिन बजेट र नीति तथा कार्यक्रम ल्याउने तयारी पालिकाले गरेको जनाए ।

बाँकेको जानकी गाउँपालिकाले आज आइतबार नीति तथा कार्यक्रम ल्याउने प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकले जानकारी दिएका छन् । ‘आइतबार नीति तथा कार्यक्रम र अर्को दिन सोमबार बजेट ल्याउने तयारी छ’, उनले भने ।

बाँकेको बैजनाथ गाउँपालिकाले असार ९ र १० गते गाउँसभा गर्ने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले नीति तथा कार्यक्रम असार ९ गते र बजेट १० गते ल्याउने तयारी गरेको बताए ।

Exit mobile version