नेपालगन्ज नाका हुँदै ७१ अर्बको आयात

करिब तीन अर्बको निर्यात, ९६ प्रतिशत व्यापार घाटा

नेपाल–भारत सीमाको नेपालगन्ज स्थित जमुनाह नाकाबाट चालु आर्थिक बर्षको जेठ मसान्तसम्म विभिन्न देशबाट ७१ अर्ब बराबरको मालसामान आयात भएको छ । आयात–निर्यात व्यापार कुल ७४ अर्ब ३५ करोड बढी भएको नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक रहेको छ ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, चालु आर्थिक बर्ष २०८१÷०८२ मा ७१ अर्ब १८ करोड ४३ लाख ५८ हजार बराबरको आयात भएको छ । आयातको तुलनामा निर्यात भने निकै न्यून रहेको छ । नेपालगन्ज नाकाबाट चालु आ.व.को जेठ मसान्तसम्म २ अर्ब ८५ करोड ९ लाख ३्र९ हजार बराबरको निर्यात भएको छ ।

अघिल्लो आर्थिक बर्षमा जेठ मसान्तसम्म ६६ अर्ब ६२ करोड ५ लाख २६ हजार बराबरको आयात निर्यात नेपालगन्ज भन्सारबाट भएको थियो । जसमा आयात ६४ अर्ब ४२ करोड ५२ लाख ७९ हजार र निर्यात २ अर्ब १९ करोड ५२ लाख ४७ हजार रहेको थियो ।

नेपालगन्ज भन्सारबाट जेठ मसान्तसम्मको व्यापार घाटा ९६ प्रतिशत रहेको छ भने अघिल्लो आ.व.को सोही अवधीसम्म व्यापार घाटा ९७ प्रतिशत रहेको थियो ।

त्यस्तै, नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षमा पनि विगतमा जस्तै बार्षिक लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ । नेपालगन्ज भन्सार कार्यालयले चालु आ.व.का लागि २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार लक्ष्य लक्ष्य पाएकोमा जेठ मसान्तसम्म ६७.२९ प्रतिशत अर्थात १८ अर्ब २९ करोड १२ लाख १२ हजार मात्रै असुली गर्न सफल भएको छ ।

अघिल्लो आ.व. २०८०÷०८१ मा नेपालगन्ज भन्सारले २८ अर्ब ६६ करोड २५ लाख २८ हजार लक्ष्य पाएकोमा उक्त आ.व.को अन्त्यसम्म ६३.२५ प्रतिशत अर्थात १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार राजश्व संकलन गरेको थियो । अघिल्लो आ.व.को तुलनामा यस बर्ष जेठ सम्ममा बढी भन्सार असुली भैसकेको छ ।

Exit mobile version