बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको ओपिडि पञ्चकर्म भवन निर्माण २०७९ असार १३ गते सुरु भएको थियो । २०८१ बैशाख ५ गते पञ्चकर्म भवनको निर्माण सकिनु पर्नेमा ठेकेदारको ढिलासुस्तीका कारण अझै अधुरो रहेको छ । जसले गर्दा केन्द्रबाट प्रदान गरिने सेवा प्रभावित मात्रै भएको छ, मूल्यांकनमा समेत केन्द्रले ५० प्रतिशत अंक छुन सकेको छैन ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रजनीश बाजपेयीले पटकपटक अस्पताल भवन निर्माण सक्न ठेकेदारलाई दबाब दिएको बताउँछन् । ‘ठेकेदारको लापरवाही र बदमासीका कारण भवन समयमै पूरा नभएपछि ब्ल्याक लिष्टेड गर्ने प्रयास गरेपनि सफल भएको छैन’, उनले भने, ‘यस तर्फ प्रदेश सरकारको ध्यान जान आवश्यक छ ।’
सहरी विकास तथा भवन कार्यालय बाँके मार्फत निर्माण कम्पनी काठमाडौंको टिडिआर÷जुगल जेभीले ४ करोड ५२ लाख १७ हजार ८ सय ३८ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । भवनका लागि ६ करोड ९५ लाख ५२ हजार बजेट स्रोत व्यवस्थापन गरेको थियो, प्रदेश सरकारले । सम्झौता अनुसार, भवनमा आपतकालीन ब्लक, भूमिगत पार्किङ्ग सहित अस्पताल निर्माण गर्नुपर्ने हो ।
‘आयुर्वेद केन्द्रमा पर्याप्ठ ठाउँ नै छैन, अनि कसरी सेवा प्रभावकारी प्रवाह हुनसक्छ’, वडाध्यक्ष बाजपेयीले भने । उनले अस्पताललाई पूर्वाधार सम्पन्न बनाउन आवश्यक रहेको र त्यसका लागि आफ्नो तर्फबाट पहल जारी राख्ने बताएका थिए ।
आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरीक्षक भवनको पूर्णताका विषयमा यसअघि पटकपटक सम्बन्धित निकायमा जानकारी गराएको बताउँछिन् । ‘गत बर्ष बैशाखमा नै सम्पन्न हुनुपर्ने भवन हस्तान्तरण नहुँदा केन्द्रले दिने सेवा प्रभावित भैरहेको छ’, उनले भनिन् ।
सेवा केन्द्रका प्रमुख, डा. आलोक कुमार पाण्डेयले पनि भवन पूर्ण नपाउँदा केन्द्रबाट दिनुपर्ने सेवा सहज रूपमा दिन नपाएको र केही सेवाहरू सञ्चालन नै गर्न नसकेको बताएका थिए । यद्यपि उनले भवनले पूर्णता पाएपछि सेवा बिस्तार हुने बताएका थिए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले कर्णालीसँग जोडिएको जिल्ला भएकाले आयुर्वेद उपचारको हब बाँके बन्न सक्ने औंल्याउँदै भवन बनेपछि त्यसतर्फ केन्द्र अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।