बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्यांकन

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका कन्सल्टेन्ट आयुर्वेद विज्ञ विभाकर ठाकुरले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रलाई सेवा सुधार गर्दै लैजान सुझाव दिएका छन् । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको न्यूनतम सेवा मापदण्डको मूल्यांकन परिणाम सार्वजनिक कार्यक्रममा बोल्दै आयुर्वेद विज्ञ ठाकुरले कार्यालयले सेवा प्रवाहमा भौतिक पूर्वाधार, जनशक्ति बाहेकका विषय पनि मूल्यांकन हुने भन्दै सेवाग्राहीले उचित सेवा पाउने र उनीहरूको विश्वास आर्जन गर्ने गरी काम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको न्यूनतम सेवा मापदण्डको मूल्यांकन परिणाम सार्वजनिक गर्दै अनुगमन समितिका सदस्य समेत रहेका कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख नलिननाथ तिवारीले बाँके केन्द्रले विभिन्न मापदण्डको मूल्यांकन गर्दा कुल ४६.७८ अंक प्राप्त गरेको जानकारी दिए । उनले केन्द्रले प्राप्त जनशक्ति र पूर्वाधार अनुसार सन्तोषजनक सेवा दिएपनि त्यसलाई अझै बिस्तृत र प्रभावकारी बनाउन सकिने उल्लेख गरेका थिए । ‘जनशक्ति व्यवस्थापनका लागि आयुर्वेदको बाँके केन्द्रमा ओएनएम सर्भे आवश्यक छ’, तिवारीले भने, ‘सोसल अडिट, स्रोतको व्यवस्थापन, व्यवस्थापन समितिको सक्रियता, पञ्चकर्मका लागि आवश्यक पूर्वाधार र दक्ष जनशक्ति आवश्यक छ ।’

त्यसअघि बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. आलोक कुमार पाण्डेयले कार्यालयले हाल प्रदान गरिरहेको सेवा, जनशक्ति, थप जनशक्तिको आवश्यक, स्रोत, साधन लगायतको बारेमा प्रस्तुति राखेका थिए ।

कार्यक्रमको सञ्चालन गर्दै स्वास्थ्य निर्देशनालयका डाक्टर श्रवण कुमार चौधरीले लुम्बिनी प्रदेशमा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रहरूको क्षमता मूल्यांकन, सेवा प्रवाहको अवस्थाबारे अध्ययन गरेर परिणाम सार्वजनिक गरिरहेको बताएका थिए ।

कार्यक्रममा स्वागत गर्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरीक्षक डा. गिता रेग्मीले मूल्यांकनबाट प्राप्त हुने परिणाम र सुझावहरूलाई आत्मसाथ गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लग्ने बताएकी थिइन् । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमु्ख विष्णु श्रेष्ठ, डा. शिशिर गिरी, डा. मो. अकबर अलि बागवान, वैद्य सिताराम चौधरी, राजन कुमार थारु लगायतको उपस्थिति रहेको थियो ।

 

Exit mobile version