नेपालगन्जमा पहिलोपटक पूल पार्टीसहितको रंगीन ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ आयोजना हुने भएको छ । आश्री इभेन्ट्सको आयोजनामा असार २१ गते नेपालगन्जस्थित ‘मेरो प्लानेट’मा यो विशेष कार्यक्रम आयोजना हुने भएको हो । सोमबार साइना क्याफेमा पत्रकार सम्मेलन गर्दै आयोजकहरूले कार्यक्रमबारे जानकारी दिएका हुन् ।
आश्री इभेन्ट्सकी प्रमुख प्रिसिला घिसिङका अनुसार, यो कार्यक्रम नेपालगन्जको पहिलो स्ट्याण्डर्ड वाटर फेस्टको रूपमा स्थापित गर्न लागिएको हो । करिब पाँच सयदेखि छ सय सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको उक्त इभेन्ट आश्री इभेन्ट्सद्वारा हालसम्म आयोजना गरिएका कार्यक्रमहरूमध्ये सबैभन्दा ठूलो हुने उनले जानकारी दिइन् । उनले गर्मीको समयमा युवाहरूलाई लक्षित गर्दै नयाँ स्वाद, उत्साह र ऊर्जा दिने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको स्पष्ट पारिन् ।
कार्यक्रमका अर्का आयोजक सिद्धान्त सिंहले फेस्टिभलका प्रमुख आकर्षणका रूपमा पौडी खेल्ने व्यवस्था, स्वादिलो खानाका स्टल, डीजे सोनम र गायक विश्वजित शाहीको विशेष प्रस्तुति, फेस पेन्टिङ, रेन डान्स, लक्की ड्र, गेम स्टल, र जोडी र्याम्प वाक रहेको जानकारी दिए । यस्तै, व्यवसाय प्रवद्र्धनका लागि स्टलहरू पनि राखिने उनले बताए ।
सशुल्क यो कार्यक्रममा ७ वर्षभन्दा मुनिका बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ । टिकटमा प्रवेशका साथै पूल गतिविधि र बियर वा मोकटेल (बालबालिकाका लागि सफ्ट ड्रिङ्क) पनि समावेश गरिएको छ।
कार्यक्रमबारे जानकारी दिँदै आयोजक सदस्य हृदयन्द्रराज श्रेष्ठले फेस्टको लागि आवश्यक सबै प्रकारका तयारी पूरा भइसकेको बताए ।
कार्यक्रममा बोल्दै मारवाडी महिला मञ्चकी अध्यक्ष कुसुम दुगडले विदेशमा हुने कार्यक्रमजस्तै अब नेपालगन्जमै आयोजना हुन थालेकोमा खुसी व्यक्त गर्दै आयोजक युवाहरूको प्रयासलाई खुलेर साथ दिने प्रतिबद्धता जनाइन् ।
आयोजकका अनुसार, इभेन्ट दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले यो फेस्टलाई नेपालगन्जको सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधिमा नयाँ उचाइको थालनी हुने विश्वास व्यक्त गरेका छन् ।