सूचना प्रविधिमा भविष्य : लुम्बिनी प्रदेशमा व्यवस्थापनसहितको शिक्षाप्रति आकर्षण

सजल गैरे

सूचना प्रविधि (IT) र व्यवस्थापनको समन्वयमा आधारित शिक्षाले पछिल्लो दशकमा नेपाली युवाहरूको ध्यान आकर्षण गर्न थालेको छ। विशेषगरी Bachelor in Information Management (BIM) जस्तो कोर्सहरूले व्यवस्थापनसँगै प्राविधिक दक्षता प्रदान गर्ने भएकाले यो कार्यक्रम बैंकिङ, डाटा एनालिटिक्स, सफ्टवेयर डेभलपमेन्ट, प्रोजेक्ट म्यानेजमेन्ट लगायतका क्षेत्रमा भविष्य खोज्ने युवाहरूका लागि एक उपयुक्त विकल्प बन्दै गएको छ। नेपालभरि यस कोर्सको माग बढ्दो छ, तर लुम्बिनी प्रदेशमा भने यसको अवस्था अझै पनि उत्साहजनक देखिँदैन।

हाल लुम्बिनी प्रदेशका जम्मा छ वटा क्याम्पसहरूमा मात्र सूचना प्रविधि समेटिएको BIM कार्यक्रम सञ्चालनमा छ। तर सहभागिताको अवस्था निकै कमजोर देखिन्छ।
भैरहवामा रहेको भैरहवा मल्टिपल क्याम्पसका को–अर्डिनेटर पिताम्बर तिवारीका अनुसार, हाल ८औं सेमेस्टरमा २५ जना मात्र पास आउटको तयारीमा छन् भने ७औं सेमेस्टरमा जम्मा ११ जना विद्यार्थी अध्ययनरत छन्।
कोर्स सुरु हुँदा केही संख्यामा विद्यार्थी देखिए पनि थुप्रैले बीचमै पढाइ छाडे कतिपय विदेशिए, भने कतिपयले विषयप्रति नै आशा गुमाए। तिवारी भन्छन्, “सरकारी क्याम्पसमा शुल्क कम भए पनि विद्यार्थी नआउनु हाम्रो कमजोरी हो कि भन्ने प्रश्न उठ्न थालेको छ। हामी BIM को महत्व बुझाउन असफल भयौं कि जस्तो लाग्छ।” तर उहाँ थप्नुहुन्छ, जसले वी–आइ–एम को मूल्य बुझे, उनीहरू आज आइटी क्षेत्रमा कार्यरत छन् र राम्रो आम्दानी गरिरहेका छन्।

तिलोत्तमा, बुटवलमा रहेको लुम्बिनी सिटी कलेजका विद्यार्थी निशान भुर्तेल भन्छन् कि BIM रोज्नुको कारण व्यवस्थापन र सूचना प्रविधिको संयोजन हो। तर उनी भन्छन्, “BIM बाट भविष्य निर्माण गर्ने ठूलो सपना बोकेको थिएँ, तर अहिलेसम्म त्यसअनुसारको गुणस्तरीय सिकाइको अनुभव गर्न पाएको छैन।” उनका अनुसार, विभिन्न इभेन्टहरू भए तापनि काठमाडौं वा विदेशमा पाइने जस्तो शैक्षिक वातावरण यहाँ विकास हुन सकेको छैन। “टीयू काठमाडौंमै सीमित छ जस्तो लाग्न थालेको छ,” उनी भन्छन्, “त्यहाँका विद्यार्थीहरू व्यवहारिक सिकाइमा अघि बढिसकेका छन्, हामी अझै सुरुआती अभ्यासमै अडिएका छौं। प्रयास छ, तर परिणाम छैन। कहिलेकाहीं लाग्छ ,न साधन पुगे, न शिक्षक।

यस्तै अनुभव अन्य ठाउँबाट पनि सुनिन्छ। कोहलपुर क्षेत्रका क्याम्पसहरूमा वी–आइ–एम कार्यक्रम नै बन्द भइसकेको छ। त्यहाँ पहिले अध्ययन गर्ने विद्यार्थीहरू थिए, तर नयाँ भर्ना ठप्प भएको छ। स्थानीय स्रोतहरू भन्छन्, “वी–आइ–एम के हो भन्ने नै नबुझेपछि विद्यार्थीहरू इच्छुक देखिएनन्।”

नेपालगञ्जतर्फ पनि स्थिति उस्तै छ। कोरोना महामारीको बीचमा सुरु भएका ब्याचहरूमा विद्यार्थी संख्या नगण्य रह्यो। अहिले केही सुधार देखिए पनि दीर्घकालीन संरचना र आकर्षणको रणनीति अझै तय भइसकेको छैन।

ब्राइटल्याण्ड कलेजकी ६औं सेमेस्टरकी छात्रा अस्मिता जोशीको अनुभव पनि यस्तै छ। उनी भन्छिन्, “वी–आइ–एम अत्यन्त उपयोगी विषय हो तर व्यवहारिक अभ्यास, अनुभवी शिक्षक, र आवश्यक उपकरणको अभावले सिकाइमा अवरोध पुर्‍याएको छ।” उनी थप्छिन्, “आजको दिनमा पनि हामी पुस्तकमा सीमित छौं।

व्यवहारिक अभ्यास नहुँदा सैद्धान्तिक ज्ञान रटेर परीक्षा दिनेबाहेकको अध्ययन शून्यजस्तै छ। विषय मन पर्ने भए पनि अभ्यास नहुँदा रुचि मर्ने खतरा छ।” अस्मिताकाअनुसार, कलेजको इच्छाशक्ति हुँदाहुँदै पनि संरचना, संसाधन र आवश्यक विद्यार्थी संख्या अभावका कारण व्यवहारिक शिक्षा स्थापित हुन सकेको छैन।
तर यी सबै समस्याबीच पनि एक सकारात्मक उदाहरण बनेको छ दाङ स्थित अम्बिकेश्वरी क्याम्पस। यहाँको वी–आइ–एम कार्यक्रम निकै सफल मानिन्छ। सबै सिटहरू भरिएका छन्, विद्यार्थीहरूमा उत्साह छ, र क्याम्पसले नियमित रूपमा प्रोजेक्ट आधारित अभ्यासहरू गरिरहेको छ। वेबसाइट डिजाइन, डाटाबेस निर्माण, प्रतियोगिता, प्रजेन्टेसन, र व्यवहारिक प्रयोगले विद्यार्थीहरूलाई आत्मविश्वासी बनाएको छ। स्रोतहरूका अनुसार, “अम्बिकेश्वरी क्याम्पसमा वी–आइ–एम अहिले सबैभन्दा लोकप्रिय कार्यक्रम हो, र विद्यार्थीबाट प्राप्त फिडब्याक पनि अत्यन्त सकारात्मक छ।”

वी–आइ–एम जस्तो विषयले केवल किताबी ज्ञान होइन, व्यवहारिक अभ्यास र रचनात्मक प्रयोगबाट नै दक्ष जनशक्ति उत्पादन गर्छ। तर प्रदेशमा विद्यार्थी सहभागिता कम हुनु, गुणस्तरीय शिक्षण संरचनाको अभाव, शिक्षकको अस्थिरता, र नीतिगत कमजोरीले यस्तो विषयलाई कमजोर बनाउँदै लगेको छ। यदि समयमै सुधार गरिएन भने लुम्बिनी प्रदेशको प्रतिभा राजधानी वा विदेश पलायन हुने क्रम झनै तीव्र हुने निश्चित छ।
यसै सन्दर्भमा नेपालगञ्जस्थित ब्राइटल्याण्ड कलेजमा वी–आइ–एम अध्यापनरत, एकेडेमिक सल्लाहकारसमेत रहनुभएका त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक राजेश केशर खनाल भन्छन्,

“अब आवश्यक छ—नीतिगत प्राथमिकता निर्धारण, स्रोतको प्रभावकारी परिचालन, दक्ष जनशक्तिको व्यवस्थापन, व्यवहारिक सिकाइमा जोड, र विद्यार्थीमा सकारात्मक अभिप्रेरणा जगाउने रणनीति। वी–आइ–एम जस्तो कोर्स केवल अध्ययनको विषय होइन, भविष्य निर्माणको बलियो आधार हो। लुम्बिनी प्रदेशमा सूचना प्रविधिको उज्ज्वल भविष्य देख्न चाहने हो भने सोचाइ र रणनीतिमा क्रान्ति ल्याउन जरुरी छ। र त्यो परिवर्तन आजैबाट सुरु गर्नुपर्छ।”

Exit mobile version