कार्यान्वयनमा वडाको मजदूर स्वास्थ वीमा

नेपालगन्ज–१८ मा मजदूर परिवारका लागि स्वास्थ्य बीमाः स्थानीय स्रोतमा आधारित सामाजिक सुरक्षा नीति कार्यान्वयन

नेपालगन्ज उपमहानगरपालिका–१८ ले सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित आफ्ना वडाका श्रमिक वर्गका लागि अभिनव कार्यक्रम सञ्चालनमा ल्याएको छ । वडाले आन्तरिक स्रोतको उपयोग गर्दै १ सय मजदूर परिवारलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

वडाध्यक्ष दीपककुमार बर्मा र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले वडा भेलाको अवसरमा बीमा कार्ड वितरण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गरे । प्रमुख प्रशासकीय अधिकृत शर्माले वडाको उक्त कार्यको खुलेर प्रशंसा गरे ।

वडाध्यक्ष बर्माका अनुसार, यस कार्यक्रमअन्तर्गत दैनिक ज्यालादारीमा जीवन निर्वाह गरिरहेका मजदूर परिवारका अधिकतम पाँच सदस्यसम्मका लागि स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइएको छ । ‘लक्षित समूदायको विमित हरेक परिवारलाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ,’ वडाध्यक्ष बर्माले दैनिक नेपालगन्जसँग भने ।

‘हाम्रो उद्देश्य आयमा अस्थिरता भएका श्रमिक वर्गलाई स्वास्थ्य समस्याका बेला आर्थिक बोझबाट जोगाउनु हो,’ वडाध्यक्ष बर्माको भनाइ छ, ‘यसले मजदूरको स्वास्थ्य सुरक्षाको अनुभूति गराउनेछ ।’

कार्यक्रमअन्तर्गत भेरी अस्पतालदेखि फत्तेवाल आँखा अस्पतालसम्मका सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूलाई बीमा सेवामा समेटिएको छ ।

नीति सन्दर्भ

यो कार्यक्रम नेपाल सरकारले अघि सारेको सर्वसुलभ स्वास्थ्य सेवा र सामाजिक सुरक्षा विस्तार गर्ने नीति अनुरूप हो । संविधानले पनि प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पहुँचको अधिकारको सुनिश्चितता दिएको छ । स्थानीय सरकारले आ–आफ्नो क्षेत्रको आवश्यकता अनुसार नीति कार्यान्वयनमा देखाएको सक्रियता र स्रोत व्यवस्थापनको उदाहरणस्वरूप यो कार्यक्रम लिएको बताइएको छ ।

यस किसिमका बीमा योजनाले स्थानीय तहबाटै सामाजिक न्याय र समावेशी सेवाप्रवाहको सशक्त आधार निर्माण गर्दै गएको स्पष्ट देखिन्छ । साथै, यसले अन्य वडाहरू तथा नगरपालिकाहरूलाई पनि मजदूर र विपन्न वर्गप्रति उत्तरदायी बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।

Exit mobile version