पाँच हजार फलफूलका बिरुवा वितरण

बाँकेका विभिन्न गाउँपालिकाहरूमा बुधबार विभिन्न प्रजातिका फलफूलका बिरुवा वितरण गरिएको छ । यस अभियानले किसानको आयआर्जन वृद्धि गर्नका साथै जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न र वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

कृषि वन तथा वृक्षारोपण कार्यक्रमअन्तर्गत पारिवारिक निजी वन संघ नेपाल, जिल्ला शाखा बाँकेको आयोजना र डिभिजन वन कार्यालय नेपालगन्जको सहयोगमा यो उदाहरणीय कार्यक्रम भएको हो ।

‘स्थानीय समुदायलाई हरित भविष्यतर्फ अग्रसर गराउने प्रेरणाका लागि यसरी फलफुल विरुवा वितरण गरिएको,’ पारिवारिक निजी वन संघ नेपाल, जिल्ला शाखा बाँकेका सदस्य ओबीराज आचार्यले बताए ।

आचार्यका अनुसार, बाँकेको खजुरा गाउँपालिका वडा नं. १ र जानकी गाउँपालिका वडा नं. २, ३, ४, र ६ मा गरी करिब ५० किसानलाई विरुवा वितरण गरिएको हो । कार्यक्रममा कूल ५ हजार बिरुवा वितरण गरिएको थियो ।

पारिवारिक निजी वन संघ नेपाल, जिल्ला शाखा बाँकेका अध्यक्ष सुनील घिमिरेले आँप, लिची, कटहर, अम्बा लगायतका फलफूलका बिरुवा वितरण गरिएको जानकारी दिए । उनका अनुसार, यी बिरुवाहरूले आगामी दिनमा बाँकेको भूमिलाई अझ हरियाली बनाउन र किसानहरूको जीवनमा समृद्धि ल्याउन मद्दत गर्नेछन् ।

वितरण कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. १ र जानकी गाउँपालिकाका विभिन्न वडाका पारिवारिक निजी वन किसानहरूको उत्साहजनक उपस्थिति रहेको जानकारी दिंदै पत्रकारसमेत रहेका संघका सदस्य आचार्यले भने, ‘यसले वातावरण संरक्षणप्रतिको सामूहिक प्रतिबद्धतालाई झल्काउँछ ।’

कार्यक्रममा जानकी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रमेशकुमार वर्माले किसानमुखी यस्ता कार्यक्रमहरूले किसानको आयआर्जनमा वृद्धि हुनुका साथै जलवायु र वातावरणमा समेत सकारात्मक सहयोग पुग्ने बताए । उनले यस्ता प्रयासहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमलाई सहयोग गर्ने डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्तालाई धन्यवाद दिँदै जानकी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष जगदीशप्रसाद हरिजनले भावी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे ।

जानकी गाउँपालिका वडा नं. ३ का वडा सदस्य हुसैनी यादव, पारिवारिक निजी वन संघ नेपाल, जिल्ला शाखा बाँकेका पदाधिकारीहरू, जनप्रतिनिधिहरू, पारिवारिक निजी वन किसानहरू तथा स्थानीयबासीको उपस्थिति रहेको यस कार्यक्रममा कूल ५ हजार बिरुवा वितरण गरिएको थियो । ‘यसले बाँकेलाई एउटा हरित र दिगो भविष्यतर्फ लैजान महत्वपूर्ण कदम चालेको छ,’ पत्रकार आचार्यले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, बाँकेमा पाँच हेक्टर नीजि वन क्षेत्रको विकास भइसकेको छ । उनीहरुलाई संगठित गरि पारिवारिक निजी वन संघको जिल्ला संगठन बनाइएको छ ।

Exit mobile version