नेपालगन्ज रोड–गोन्डा रेलमार्गको निर्माण तीव्र

आगामी जुलाईसम्म सञ्चालनमा आउने अपेक्षा

सीमावर्ती भारतीय क्षेत्रमा नेपालसँग जोडिने रेलवे सेवा विस्तारले गति लिएको छ । नेपालगन्ज रोड रेलवे स्टेशनदेखि भारतको गोन्डासम्म ५६ किलोमिटर लामो रेलमार्गको निर्माण तीव्र गतिमा अगाडि बढेको हो ।

भारतीय सञ्चारमाध्ययमका अनुसार, यो रेलमार्गको अधिकांश काम पूरा भइसकेको र आगामी जुलाई महिनासम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

भारत सरकारले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्न तथा सीमावर्ती क्षेत्रका बासिन्दाहरूलाई सहज र सस्तो यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले यो परियोजना अगाडि बढाएको हो । ‘रेलमार्गको पटरी बिछ्याउने कार्य अन्तिम चरणमा पुगेको छ भने स्टेशन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ,’ सम्बद्ध अधिकारीहरुले भनेका छन् ।

नेपालगन्जका लागि निकै महत्व राख्ने यस रेलमार्गमा रुपैडिहासहित कुल १० वटा साना रेलवे स्टेशन र दुई वटा महत्वपूर्ण प्लेटफर्मसहितका स्टेशनहरू निर्माण गरिने गरि काम भइरेका छन् । ‘यी स्टेशनहरूको निर्माणले स्थानीय मानिसहरूलाई आवतजावतमा सुविधा पुग्नुका साथै व्यापार व्यवसायलाई पनि बढावा मिल्नेछ,’ भारतीय पत्रकार सन्तोषकुमार शुक्लले दैनिक नेपालगन्जसँग भने ।

पत्रकारसँग कुरा गर्दै स्थानीय मानिसहरू र व्यवसायीहरूले यो रेलमार्गबाट ठूलो फाइदा हुने बताएका छन् । मालौनुपर रेलवे स्टेशनलाई विशेषगरी माल ढुवानीका लागि विकसित गरिनेछ । यहाँबाट कृषि उत्पादन र अन्य वस्तुहरूको ढुवानी गरिनेछ, जसले व्यापारीहरूलाई थप सुविधा पुग्नेछ ।

मिटर गेजबाट ब्रोड गेजमा रूपान्तरणः

मीटर गेज रेलवे स्टेशनलाई ब्रोड गेजमा रूपान्तरण गर्ने कार्य पनि तीव्र गतिमा भइरहेको छ र यसलाई आगामी मार्च महिनासम्म पूरा गर्ने लक्ष्य राखिएको छ। नन्दन, बुढनपुर, कादियापुर, गाजीगंगामाई, ट्रेननरेट, डिगनानगर लगायत नौ स्टेशनहरूको काम पूरा भइसकेको छ । अन्डरपासको निर्माण पनि स्वीकृत भइसकेको छ र यसलाई पनि मार्चसम्म पूरा गर्ने डीआरएमले आश्वासन दिएका छन् ।

डीआरएमको भनाइः

मंडलीय रेल प्रवन्धक (डीआरएम)ले यस सम्बन्धमा जानकारी दिँदै, ‘रेलमार्गको निर्माण तीव्र गतिमा भइरहेको छ र जुलाईसम्म यसलाई पूरा गर्ने अपेक्षा गरिएको बताए । ‘हामी छिट्टै ट्र्याक निरीक्षण गरेर अन्तिम स्वीकृतिका लागि आवेदन दिनेछौं,’ उनले जुलाईमा रेल सुरक्षा आयुक्तद्वारा गरिने निरीक्षणबारे भने कुनै स्पष्ट जवाफ दिएनन्, केवल अन्तिम स्वीकृतिका लागि आवेदन दिने तयारीमा रहेको र यसमा केही समय लाग्न सक्ने बताए ।

Exit mobile version