बाँकेमै अब ‘विजयसाल वन’

विजयसाल प्लटको स्थापना गरि वृक्षारोपण शुरु गरिएको हो

संरक्षित तथा लोपोन्मुख वनस्पति प्रजातीको संरक्षणका लागि पश्चिम नेपालमा पहिलो योजनाबद्ध पहलका रूपमा बाँकेको गेदवामा विजयसाल वृक्षारोपण प्लटको स्थापना गरिएको छ ।

वृक्षारोपण कार्यक्रमका संयोजकसमेत रहेका वन वीउ प्रयोगशाला तथा भण्डारण केन्द्र बाँकेका रेञ्जर अशोक खत्रीले यो प्लट कञ्चनपुरपछि पश्चिम नेपालको दोस्रो तथा विजयसालका लागि पहिलो योजनाबद्ध संरक्षणस्थल भएको बताए । ‘लुम्बिनीको बाँके अब विजयसाल पाइने जिल्लाका रुपमा चिनिनेछ,’ खत्रीले भने ।

राप्ती सोनारी गाउँपालिका वडा नं ७ गेदवा स्थित रामजानकी सामुदायिक वन क्षेत्रभित्र वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेश अन्तर्गतको वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र बाँकेको नेतृत्वमा सुरु गरिएको यस वृक्षारोपण कार्यक्रममा विजयसालका १ हजार १६० र सतिसालका ६५० विरुवा रोपिने रेञ्जर खत्रीले बताए ।

विजयसाल नेपालमा पाइने उच्च गुणस्तरीय काठमध्ये एक हो, जुन संरक्षित सूचीमा राखिएको छ । यसको उच्च बजार मूल्य, ढिलो वृद्धि हुने स्वभाव र अत्यधिक दोहनका कारण यो प्रजाती संकटग्रस्त बन्दै गएको छ । कञ्चनपुरमा २०५७ सालमा गरिएको विजयसालको बीउ सङ्कलन तथा रोपण प्रयास सफल भएपनि त्यसपछि यस्ता योजनाबद्ध संरक्षण परियोजना खासै देखिएका थिएनन् ।

‘बाँकेको यो प्रयास केवल वृक्षारोपण कार्यक्रम मात्र नभई दीर्घकालीन संरक्षण रणनीतिको एक महत्वपूर्ण थलो बन्ने सम्भावना बोकेको छ,’ कार्यक्रम संयोजक खत्रीले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, १.१३ हेक्टर क्षेत्रफलमा फैलिएको यो प्लटले विजयसालको वंशाणुगत श्रोतको संरक्षण, बीउ उत्पादन र वितरण तथा वनस्पतिक विविधता कायम गर्न दीर्घकालीन योगदान पु¥याउनेछ ।

कार्यक्रम संयोजक खत्रीका अनुसार, यो कार्यक्रम संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यमा सञ्चालन भएको हो ।

शनिवार वृक्षारोपण शुभारम्भ गर्दै प्रमुख अतिथि, नेपाल सरकारका राज्यमन्त्री रुपा विश्वकर्माले तीन तहका सरकारबीच समन्वय गरी वनमा आधारित आर्थिक सुधार र संरक्षणलाई अघि बढाउनु आवश्यक रहेको बताइन् ।

कार्यक्रमका अध्यक्ष, प्रदेश वन मन्त्रालयका सचिव प्रमोद भट्टराईले लुम्बिनी प्रदेशको नीति र कार्यक्रममा विजयसाल तथा सतिसाल संरक्षण समेटिएको र यो प्लट त्यसको व्यवहारिक उदाहरण भएको उल्लेख गरे । यद्धपि, प्रदेश सरकार आफैले भने आफ्नो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सकेको छैन । ‘सानैस्केलमा भएपनि हामीले यो अगाडी बढाउन सफल भएका छौं,’ कार्यक्रममा वक्ताहरुले भने ।

रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंका प्रमुख नवराज पुडासैनीका अनुसार, वनमा आधारित आयआर्जनका उपायहरू विकास गर्न समुदायलाई बजेट र प्राविधिक सहयोग उपलब्ध गराइनेछ । यसले थारु, मुस्लिम लगायत जातीय विविधता बोकेको समुदायमा सामाजिक समावेशीकरण र आय सृजनालाई पनि सघाउनेछ ।

रामजानकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजा अलि खाँका अनुसार, समुहले प्लटमा रोपिएका विरुवाहरूलाई संरक्षण गर्दै भविष्यमा बीउ उत्पादन केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखेको छ । यसले समुदायमा वन–आधारित रोजगारी, वातावरणीय सचेतना र जैविक विविधता संरक्षणको अभ्यासलाई संस्थागत बनाउनेछ ।

वन विभागका उपमहानिर्देशक अजित कुमार कर्णले अघिल्ला वृक्षारोपण प्रयासहरू सफल भएको स्मरण गराउँदै यो परियोजनाबाट दीर्घकालीन लाभ सुनिश्चित हुने विश्वास व्यक्त गरे ।

वर्दिया र बाँकेका डिभिजनल वन अधिकृतहरूले पनि संरक्षित प्रजातीको सन्दर्भमा यस परियोजनाको राष्ट्रिय महत्व औंल्याएका छन् । वर्दियाका डिभिजनल वन अधिकृत विजय राज सुवेदीले विजयसाल र सतिसालजस्ता संरक्षित प्रजातीको संरक्षण नेपालमै पहिलो पटक औपचारिक प्लटमार्फत भएको बताए ।

वन वीउ प्रयोगशाला तथा भण्डारण केन्द्र बाँकेका प्रमुख भुवनेश्वर चौधरीले संचालन गरेको वृक्षारोपण कार्यक्रममा ुहभागीहरुलाई बाँकेका डिभिजिनल वन अधिकृत शंकर प्रसाद गुप्ताले स्वागत गरेका थिए ।

‘वृक्षारोपण कार्यक्रम क्रमशः केही दिन सम्म समूहको सक्रियतामा गरिनेछ,’ वन वीउ प्रयोगशाला तथा भण्डारण केन्द्रका प्रमुख चौधरीले भने ।

Exit mobile version