विद्यार्थी–शिक्षकलाई साइबर सचेतना

बढ्दो साइबर अपराधप्रति चिन्ता

सूचना प्रविधिको विकास र विस्तारसँगै बढ्दो साइबर अपराधप्रति चिन्ता गरिएको छ । त्यसको न्यूनिकरणमा सामुहिक प्रयासको आवश्यकता औंल्याउँदै सचेतनामा जोड पनि दिइएको छ ।

नेपालगन्जका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरुका लागि आइतवार आयोजित ‘साइबर अपराध सचेतना कार्यक्रम’ मा विभिन्न वक्ताहरुले साइबर अपराध न्यूनिकरणमा सचेतनानै प्रमुख उपाय भएको बताए ।

सयबढी विद्यार्थीहरुबीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले कार्यक्रम उद्घाटन गरे । कार्यक्रममा उद्घाटन मन्तव्य व्यक्त गर्दै नगर प्रमुख विष्टले साइबर अपराधको बढ्दो घटना न्यूनिकरणमा विद्यालयस्तरबाटनै सचेतना जगाउन यसरी कार्यक्रम गरिएको बताए ।

डटवक्र्स टेक्नोलोजीज्ले नेपालगन्ज उपमहानगरपालिकासँगको सहयोगमा साइबर सचेतनाबारे दुई दिने कार्यक्रम गरेको हो । पहिलो दिन सयबढी विद्यार्थी, शिक्षक लगायतका लागि गरिएको सचेतनाको दोस्रो दिन जनप्रतिनिधिहरुसँग अभिमुखिकरण गरिने आयोजक डटवक्र्सका प्रवन्ध निर्देशक अरशद कमल सिद्दीकीले जानकारी दिए ।

कार्यक्रम उद्घाटन सत्रमा, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राम प्रसाद घर्तीले बाँकेमा बढ्दो साइबर अपराध र जोगिनुपर्ने अवस्थाको आवश्यकताबारे आफ्ना धारणा राखेका थिए ।

सञ्चार साझेदार, दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नेपालगन्ज – १८ का वडाध्यक्ष दीपककुमार बर्मा लगायतले विषयगत धारणा राखेका थिए ।

वडाध्यक्ष बर्माले आफुले दुई वर्षदेखि वडामा अभियानकै रुपमा साइबर अपराधविरुद्ध सचेतनाका लागि काम गरिरहेको जानकारी दिंदै नगरभरिनै यसको विस्तार गरिएकोमा नगर प्रमुख विष्टलाई धन्यवाद दिए ।

शिक्षक विद्यार्थीहरुबीच अन्तक्र्रियात्मक सचेतनका कार्यक्रममा विषय विज्ञ, ई. अरशद कमल सिद्दीकी र बाँके प्रहरी महिला सेल प्रमुख, प्रहरी निरीक्षक शिवा थापाले साइबर अपराधका विभिन्न प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रमको सहजीकरण पत्रकार सन्ध्या गैरेले गरेकी थिइन् । कार्यक्रममा सहभागी विद्यार्थी शिक्षकहरुले स्रोतव्यक्तिहरुसँग विभिन्न जिज्ञासा राख्दै सूचना प्रविधिमा आएको विकाससँगैको जोखिम न्यूनिकरणमा अपनाउनुपर्ने सजगताबारे जानकारी लिएका थिए ।

ब्राइटल्याण्ड कलेजका विद्यार्थीहरुले कार्यक्रममा साइबर अपराधबाट भएको प्रभावबारे ‘नाटकीय प्रस्तुति’ पनि गरेका थिए । ब्राइटल्याण्ड विआइएमकी छात्रा सजल गैरेको संयोजनमा गरिएको प्रहसनमा विद्यार्थीहरुले युवाहरु कसरी साइबर अपराधको शिकार भइरहेका छन्, भन्ने कुरालाई सचित्र प्रस्तुतिकरण गरिएको हो ।

Exit mobile version