रैथाने चेतनाको सन्दर्भमा नेपालगन्जको सामाजिक मनोविज्ञान

नेपालगन्ज अहिले भौतिक विकासको चरम लहरमा छ । नेपालगन्ज उपमहानगरको बजेटमै विकासको लागि अरव रुपियाँ विनियोजनका समाचार यत्रतत्र सर्वत्र छन् ।

चौडा सडक, अग्ला भवनहरू, आधुनिक पसलहरू, विदेशी ब्राण्डका ब्यानर र चिल्ला गाडीहरूको चाप हेर्दा सहर साँच्चै परिवर्तन भएको महसुस हुन्छ । चोकमा ट्राफिक रातोलाइट झिम्म झिम्म बल्दै गरेको देख्न पाइन्छ । तर त्यो बाहिरी स्वरूपभित्र चुपचाप धुलोझैं थिचिएको कुरा हो–मानवता, आत्मीयता र मनको उचाइ । विख्यात आख्यानकारहरूले भन्ने गरेका छन, “सडक चाक्लो, भवन ठूला, पहिरन महंगो; तर मन संकीर्ण ।” नेपालगन्जको आजको अवस्था यसैको जिउँदो उदाहरणजस्तो लाग्छ । जसरी सडक विस्तार भइरहेको छ, त्यसरी चेतना भने संकुचित बन्दै गएको छ ।

यो सहरमा अब विकासको परिभाषा, ठूला योजना, ब्राण्डेड उपभोग, चिल्ला संरचनाहरूमा सीमित छ । विकासको बहस मनका गुण, व्यवहारका संस्कार र समुदायबीचको सम्बन्धभन्दा टाढा भागिरहेको छ । ठूला सडकले सहरको बाहिरी अनुहार सजाएको छ, तर नागरिकहरूबीचको सम्बन्ध गहिरो बन्न सकेको छैन । अब हामीलाई चाहिएको हो–ठूलो मन, फराकिलो सोच, र आत्मीयताको अभ्यास । मनका फराकिलोपनबिना कुनैपनि सहर पूर्ण हुँदैन ।

नेपालगन्जको बजारमा अब अनुहारहरू व्यस्त छन्, तर नजरहरू संवादविहीन । घर अग्ला छन्, तर छतबाट छिमेकीसँग बोल्ने चलन हराउँदै गएको छ । शैक्षिक संस्थाहरू धेरै छन्, तर शैक्षिक–आत्मीयता सँगसँगै व्यवहारिक मूल्यमा आधारित छैन । चौराहाहरूमा रौस देखिए पनि सहरभित्र चिसोपनको अनुभूति बढ्दो छ । विकासको यात्रा आफैँमा गलत होइन, तर यो यात्रा मनको विकाससँगै नहिँड्दा समाजमा असन्तुलन उत्पन्न हुन्छ ।

समाजमा आज सहिष्णुताको खडेरी देखिन्छ । फरक भाषा, जात, लिङ्ग वा धर्म भएका व्यक्तिप्रति असहिष्णु सोच दिनानुदिन गहिरिँदै गएको छ । भौतिक विकासका कुरामा नागरिक चाँडै उत्साहित हुन्छन्, तर समाजिक सद्भावको सवालमा उनीहरू मौन देखिन्छन् । यस्तो समाजमा एकअर्काको पीडामा साथ दिन सक्ने मनको आवश्यकता बढेको छ । नम्रता, सहकार्य र सहअस्तित्वको भावना अब शब्दमा होइन, व्यवहारमा देखिनुपर्छ ।

नेपालगन्जका सडक अहिले रातभरि उज्याला छन्, तर युवाहरूको दृष्टि अझै अन्धकारमा अलमलिएको छ । शिक्षाले प्रविधिको ज्ञान त दिएको छ, तर भावना र मानवता बुझाउने चेतना दिन सकेको छैन । सामाजिक सञ्जालमा हजारौँ मित्र भए पनि वास्तविक जीवनमा गम्भीर एक्लोपन छ । यो विरोधाभासले स्पष्ट देखाउँछ–अब हामीलाई भौतिक चमत्कार होइन, मानवीय उचाइ आवश्यक छ ।

‘रैथाने चेतना’ केवल स्थानीय खानपान, पोशाक वा भाषामा मात्र होइन, आत्मीयता र समुदायप्रतिको उत्तरदायित्वमा पनि हुन्छ । नेपालगन्जजस्तो बहुजातीय र बहुसांस्कृतिक सहरमा रैथानेपनको अर्थ सबैलाई समान नजरले हेर्न सक्ने मानसिकताको विकास गर्नु हो । सहिष्णुता, सेवा, सरसफाइ, सचेतना र सन्तुलन रैथाने चेतनाका मुख्य अङ्ग हुन् । तर आज यी सबै रैथाने पक्षहरू किनारामा परेका छन् ।

हाम्रो सामाजीक संरचना हरेक चिजलाई बजारको नजरले हेर्न थालिसकेको छ । चाडपर्वमा पनि व्यापारको गन्ध छ, सेवामा पनि नाफाको विचार छ । आत्मीयताको जग अब स्वार्थको ढुंगामा टेकेर अडिएको छ । मानिसहरू फोटो खिच्न सामाजिक बन्ने र लाइक पाउन सहयोग गर्ने मनोवृत्तिले समाजलाई अविश्वासको खाडलतिर धकेलिरहेको छ । यस अवस्थाबाट मुक्तिका लागि ठूला योजना होइन, संवेदनशील चेतना आवश्यक छ ।

शिक्षाको भूमिका अब केवल नतिजा ल्याउने होइन, व्यवहार बदल्ने दिशामा जानुपर्छ । मन ठूलो बनाउन शिक्षाले करुणा, इमान, र सहयोगको भावना सँगसँगै विकास गर्नुपर्छ । विद्यालयहरू केवल अंक दिइने थलो होइन, समर्पण र आत्मीयता सिकाउने थलो बन्नु आवश्यक छ । शिक्षक र अभिभावकबीचको सम्बन्ध माया र विश्वासमा आधारित भए मात्र नयाँ पुस्तालाई मानवीय बनाउछ ।

नेपालगन्जमा पछिल्लो समयमा भौतिक संरचनाको प्रतिस्पर्धा त देखिन्छ, तर सामाजिक उत्तरदायित्वको प्रतिस्पर्धा हराएको छ । कसले बढी खर्च ग¥यो भन्ने प्रतिस्पर्धा चर्किएको छ, तर कसले बढी सेवा ग¥यो भन्ने चासो लोप हुँदैछ । विकासको दाबी गर्दा नेतृत्वले आत्मा झल्काउने व्यवहार प्रस्तुत गर्नुपर्छ । किनभने अगुवा भनेको केवल योजना घोषणा गर्ने व्यक्ति होइन, मन देखाउने पनि हो ।

सहरको विकास केवल सडक चाक्लो पारेर हुने होइन । त्यो त लाज ढाक्न लुगा फेरेजस्तो हो । असली विकास तब हुन्छ जब नागरिकहरूबीच सम्मानको सम्बन्ध, सहकार्यको संस्कार, र साझा भविष्यमाथि समर्पणको भावना पैदा हुन्छ । जब मन ठूलो हुन्छ, तब सानो गल्ती क्षमा हुन्छ, सानो दुःख सबैको हुन्छ, र सानो सफलता सबैको खुसीमा बदलिन्छ ।

नेपालगन्ज अब भौतिक विस्तारको पछि लाग्न होइन, मानवीय विस्तारतिर जानुपर्छ । ठूला सडक बनाउने सोच होइन, ठूलो मन बनाउने संस्कार चाहिन्छ नागरिकहरूबीचको सम्बन्ध घनिष्ठ नहुन्जेल चाक्ला सडकले पनि खुसी ल्याउन सक्दैन । जुनसुकै योजना बने पनि त्यो मन छुन नसके, त्यसको मूल्य केवल ठेकेदारका बिलमा सीमित हुन्छ ।

आज हामीले आफ्नो समाज हेर्दा अनुहारका हाँसोभन्दा धेरैका आँखामा चिसो पाउँछौं । आकाशतिर हेर्दा उडिरहेको चरा जहाज देखिन्छ, तर जमिनतिर हेर्दा संघर्षरत बालबालिका देखिन्छन् । त्यो देख्ने आँखालाई मात्रै होइन, महसुस गर्ने मनलाई पनि ठूलो बनाउन जरुरी छ ।

विकासको साँचो मापन अब गाडीको ब्रान्ड, मोबाइलको मूल्य, वा घरको उचाइले होइन, मानवताको गहिराइले हुनुपर्छ । कसैको दुःखमा रुने आँसु, कसैको खुट्टा समाएर माफी माग्ने हिम्मत, र कसैको ज्यान जोगाउन आफुलाई सानो बनाउने प्रवृत्ति नै असली ठूलो मन हो । यो मन किताबमा हुन्न, भाषणमा हुन्न, केवल व्यवहार र संस्कारमा हुनुपर्छ ।

अन्ततः, नेपालगन्जको साँचो समृद्धि तब सम्भव हुन्छ, जब हामी फराकिलो सडक मात्र होइन, फराकिलो मनको यात्रामा लाग्छौं । जब हाम्रो सोच, हाम्रो व्यवहार र हाम्रो दृष्टिकोणले समावेशीता बाँच्छ, तब मात्र यो सहर साँच्चिकै जीवित, आत्मीय र शान्त समाज बन्न सक्छ ।

नेपालगन्जलाई सुन्दर बनाउने अभियान अब सडक बनाउने प्लानमा होइन, मन बनाउने प्रयत्नमा केन्द्रित हुनुपर्छ ।

सहर बनाउन लाखौंको बजेट लाग्छ, तर मन बनाउने साहसको मूल्य अनमोल हुन्छ । नेपालगन्जमा अब मनको चाक्लोपनको आन्दोलन सुरु गर्नुपर्छ । ताकि प्रत्येक नागरिक आफूभन्दा परको व्यक्ति पनि आफूजस्तै महत्त्वपूर्ण हो भन्ने भावनामा बाँच्छ । र त्यही दिन हामी साँचो अर्थमा गर्व गर्न सक्छौं—हाम्रो सहर नेपालगन्ज साँच्चिकै फरक भयो भनेर ।

Exit mobile version