रोजगारीका लागि स्थानीय तहमा छलफल

नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले बेरोजगारी समस्या समाधानका लागि तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्। नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रले सोमबार नेपालगन्जमा आयोजना गरेको स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको छलफल कार्यक्रममा नगर प्रमुख विष्टले स्थानीय सरकारले हाल रोजगारीका क्षेत्रहरू पहिचान गर्ने, सीप विकास तालिम प्रदान गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक परामर्श सेवा दिनेलगायतका कार्यहरू गरिरहेको स्पष्ट पारे।

“केही वर्षअघिसम्म रोजगारीका लागि आवश्यक परामर्श सेवा लिन पनि अलमल हुने अवस्था थियो,” उनले भने, “अहिले त्यो अवस्था फेरिएको छ। स्थानीय तहमै शाखा स्थापना भएको छ।” उनले एकैपटक सबैलाई रोजगारी दिन र सीप सिकाउन नसकिने भएकाले आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय सरकारले काम गरिरहेको बताए।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले रोजगारी प्रदान गर्ने सवालमा स्थानीय सरकारलाई चुनौतीपूर्ण भए पनि सीप विकासमार्फत वातावरण निर्माण गर्ने काम भइरहेको बताइन्। संघीय सरकारले बजेट कटौती गरेको अवस्थामा स्थानीय सरकारलाई थप दबाब सिर्जना भएको उनको भनाइ छ। तथापि, खजुरा गाउँपालिकाले अन्य शाखाहरूमा बजेट घटाए पनि रोजगार सेवा केन्द्रलाई बजेट थप गरेको उपाध्यक्ष मल्लले जानकारी दिइन्।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोबी, सामी कार्यक्रमका जिल्ला संयोजक कमल सिंह नेपालीलगायतले रोजगारीका अवसरहरू पहिचान गरी सोहीअनुसारको सीप विकासमार्फत बेरोजगारी समस्या समाधान गर्नुपर्ने आवश्यकतामा जोड दिए। प्रमुख प्रशासकीय अधिकृत शर्माले विषयगत प्रस्तुति गर्दै नीतिगत जानकारीसंगै रोजगारी सिर्जनामा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहने बताए ।

रोजगार सेवा केन्द्र नेपालगन्जकी प्रमुख मन्जु ज्ञवालीले स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सहजीकरण कोहलपुर नगरपालिकाका रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले गरेका थिए।

कार्यक्रममा कोहलपुरसहित पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सबै स्थानीय तहका रोजगार संयोजकहरूको उपस्थिति रहेको नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रका रोजगार सहायक अनुप बर्माले बताए।

समग्रमा, यस कार्यक्रमले बेरोजगारी समस्या समाधानका लागि स्थानीय सरकारको सक्रियता, तीनै तहका सरकारबीचको समन्वयको आवश्यकता र विशेषगरी सीप विकास तथा पाठ्यक्रममै रोजगारीमूलक शिक्षाको समावेशमा जोड दिएको छ।

रोजगार सेवा केन्द्र नेपालगन्जकी प्रमुख मन्जु ज्ञवालीले नेपालगन्ज क्षेत्रमा रोजगारीको वातावरण सुधार गर्नका लागि आगामी दिनमा थप ठोस कदम चाल्ने आधार तय गरेको बताइन् । नेपालगन्जकै नेतृत्वमा जिल्लाका ७ पालिकाको सहभागितामा नेपालगन्ज उद्योग वाणिज्य संघले गत चैत्रमा दुई दिने रोजगार मेला आयोजना गरेको थियो । छलफलमा रोजगार मेलाका संयोजक, संघका महासचिव भिमबहादुर रानाभाटले गरेको प्रस्तुतिमा मेलाको समीक्षासमेत गरिएको थियो ।

Exit mobile version