क्षमता भन्दा कैदीबन्दी राखिदा बसाईमा समस्या भएको थुनुवाको गुनासो

अधिकारकर्मी र प्रमुख जिल्ला अधिकारीद्धारा थुना केन्द्रको संयुक्त अनुगमन

बाँके स्थित नौवस्तामा रहेको बालसुधार गृह र कारागार कार्यालयको अधिकारकर्मी र प्रमुख जिल्ला अधिकारीको टोलीले संयुक्त रुपमा अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र एडभोकेसी फोरमका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम समेतको टोलीले नौवस्ता कारागार र बालसुधार गृहको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा थुना ब्यवस्थापन, कैदीबन्दीका आधारभुत मानव अधिकारका उपभोगको अवस्था लगायतका सवालमा छलफल गरेको थियो । अनुगमनका क्रममा कैदीबन्दी र कानूनी बिवादमा परेका बालकहरुद्धारा आफुलाई परेका अप्ठेरा र समस्या सम्बोधनको पहल गर्न अनुगमन टोलीलाई अनुरोध गरेका थिए ।

यस क्रममा अनुगमन टोलीले नौवस्ता स्थित बालसुधार गृहको पछिल्लो अवस्था, सुधार गृहको ब्यवस्थापन र बालकहरुका गुनासाका सम्बन्धमा सुधार गृहका कर्मचारी र कानूनी बिवाद परेका बालकहरुसंग छलफल गरि जानकारी लिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

बालसुधार गृह नौवस्तामा हाल जम्मा १६९ जना बिभिन्न मुद्धामा कानूनी बिवादमा परेका बालकहरु रहेका छन् । ति मध्ये अधिकांश बालक जवरजस्ती करणीको कानूनी बिवादमा परेका छन् ।

छलफलका क्रममा कानूनी बिवादमा परेका बालकहरुले सुधार गृहमा शिपमुलक तालिम, अध्ययन सामाग्री नहुदा दिउसोको समयमा त्यतिकै समय ब्यतित गर्नु पर्ने भएकाले शैक्षिक सामाग्री शिपमुलक तालिमको ब्यवस्था गर्न माग गरेका थिए । सुधार गृहमा सकारात्मक सोचका कक्षाहरु संचालन गरिनु पर्ने, मुद्धामा लामो समय कैदमा बस्नु पदा मानसिक तनाव हुने भएकाले मनोसामाजिक परामर्शकर्ताको ब्यवस्था हुनु पर्ने उनीहरुको माग थियो । खेलकुद मनोरञ्जन ब्यवस्था, कैद अवधी छुटको ब्यवस्थापन लगायतको सवालमा बालकहरुले अधिकारकर्मी र प्रमुख जिल्ला अधिकारी समक्ष आफ्ना गुनासा पोखेका थिए ।

यस क्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र बालकअधिकारकर्मी बसन्त गौतमले बालकहरुलाई नकारात्मक भाव त्यागी सकारात्मक सोचको बिकास गर्न सुझाव दिएका थिए । मुद्धामा परि केही कठिनाई स्वभाबिक भएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आधारभुत आवश्यकताका कुराहरु सम्बोधनमा आफुले पहल गर्ने बताएका थिए ।

कानूनी बिवादमा परेका बालकहरु अन्तरक्रिया गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले बाल्यकाल देखि हालसम्मको आफुले भोगेका तितामिठा अनुभव सेयर गर्दै नकारात्मक भाव त्यागी सदा सकारात्मक सोचको बिकाश गर्नु पर्नेमा जोड दिएका थिए । दुखबाट पनि सिकिएन भने मानिस कहिले नसुध्रिने भन्दै प्रमुख जिल्ला अधिकारी जोशीले सुखदुख आफ्नै ब्यवहारले घटाउने बढाउने बताए । कानूनी बिवादमा परेका बालकहरुलाई उत्प्रेषणा दिन भनाई राख्दै प्रजिअ जोशीले यस्ता खालका प्रवचनका लागी ब्यवस्थापन मिलाउन आफु प्रर्यत्नसिल रहने बताए । सुधार गृहका बालकहरुका लागी पुस्तक र राम्रो मोटिभेटर ल्याउन आफुले पहल गर्ने भनी प्रजिअ जोशीको भनाई राखेका थिए ।

नौवस्ता कारागारका कैदीबन्दीसंग उनीहरुका आधारभुत मानव अधिकारका सवालमा छलफल

क्षमता भन्दा बढी राखिदा कैदीबन्दीलाई समस्या

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र अधिकारकर्मी वसन्त गौतमको टोलीले कारागार कार्यालय नौवस्ताको अनुगमन भ्रमण गरि कैदीबन्दीहरुसंग उनीहरुको आधारभुत मानव अधिकार उपभोगको अवस्था, कारागार ब्यवस्थापन लगायतका सवालमा छलफल गरेको थियो ।

यस क्रममा कारागारका जेलर जालान्धर भुषाल, कारागारका नाईके लगायत कैदीबन्दीसंग कारागार ब्यवस्थापन र कैदीबन्दीका गुनासाका बिषयमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । ३७३ कैदीबन्दी राख्ने क्षमता भएको नौवस्ता कारागारमा हाल क्षमता भन्दा बढी ५७४ जना कैदीबन्दी रहेका छन् ।

नौवस्ता कारागारमा रहेका कैदीबन्दीले क्षमता भन्दा बढी कैदीबन्दी बस्नु पर्दा गेट देखि वेडसम्म बिभिन्न समस्या झेल्नु परेको,सबै ठाउँमा लाईन लाग्नु पर्ने बाध्यता रहेको, कोठाको साईज अनुसार एकै कोठामा १२ देखि ४० जनासम्म बस्नु पर्ने बाध्यता रहेको, कारागारमा ३२ वटा शौचालय भए पनि क्षमता भन्दा बढी कैदीबन्दी हुँदा शौचालनमा जाँदा पालो पर्खनु पर्ने बाध्यता रहेको, छिटै शौचालयको सेफ्टी टंकी भरिने समस्या रहेको, कारागार भित्र पढाउने शिक्षकको ब्यवस्था नभएको, कारागार गृह भित्र पसलमा बढी मुल्यमा सामान किन्न परेको लगायतका गुनासा सुनाएका थिए । धैयतापुर्वक एक घण्टा बढी कैदीबन्दीका गुनासा सुनेका प्रमुख जिल्ला अधिकारीले कैदीबन्दीले पाउने सुबिधा दिलाउन आफु प्रर्यत्नसिल रहेको बताएका थिए ।

अनुगमन टोलीसंगको छलफलका क्रममा कैदीबन्दीले क्षमता भन्दा बढी कैदीबन्दी राखिए पनि आफुहरु धार्मिक सामाजिक सद्भावका साथ मिलेर बसेको, राज्यबाट पाउने सिदा खर्च लगायतका सुबिधा पाउने गरेको, कारागारमा एक जना स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा पाएको, परिवारसंग संचार सुबिधा मिलेको, बिभिन्न धर्म मान्ने कैदीबन्दीले आफ्नो आस्था अनुसारको धर्म संस्कार गर्न पाएको, कारागार भित्र टिभि हेर्ने सुबिधा पाएको बताएका थिए ।

Exit mobile version