गर्मीमा राहत दिन बसपार्कमा ‘कुलिङ्ग सेन्टर’

अत्याधिक गर्मीमा राहत दिनका लागि नेपालगन्जको बसपार्क भित्र नेपालगन्ज उपमहानगरपालिकाले कुलिङ्ग सेन्टर (शितलन केन्द्र) सञ्चालनमा ल्याएको छ । बसपार्क आउने यात्रुहरूलाई प्रतिक्षा गर्दा सहज होस् भन्ने उद्देश्यले बसपार्क भित्र कुलिङ्ग सेन्टर सञ्चालनमा ल्याएको हो ।

नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लागतमा सञ्चालनमा ल्याएको कुलिङ सेन्टर देशमै पहिलो भएको दाबी गरिएको छ । कुलिङ्ग सेन्टरको शुक्रबार औपचारिक कार्यक्रमबीच नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्दै नेपालगन्ज जस्तो गर्मी ठाउँमा त्यसखालका संरचना बिस्तार गर्दै लग्ने बताएका थिए । उनले तातो हावाको लहर (लु) प्रतिकार्य योजना अनुरूप यात्रुहरूलाई लक्षित गरी बसपार्कभित्र कुलिङ सेन्टर निर्माण गरिएको बताए । नगर प्रमुख विष्टले असाध्यै गर्मीसंगै (लु) चलेको समयमा कुलिङ सेन्टरले नागरिकलाई राहत दिने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर भुपेन्द्र बोहराले २७ लाख लागतमा निर्माण सम्पन्न भएको कुलिङ सेन्टरमा नेपाल रेडक्रस सोसाइटीले १२ लाख मूल्य बराबरका आवश्यक विभिन्न सामग्री सहयोग गरेको जानकारी दिएका थिए । वातावरणमैत्री संरचनायुक्त कुलिङ सेन्टरमा कुलिङ सिस्टम, आपतकालीन स्वास्थ्य सेवा, पिउने पानी लगायत सुविधा रहेको बोहराले बताए । १२९१ स्क्वायर फिट क्षेत्रफलमा बनेको कुलिङ सेन्टरको छानामा युपिभिसी, सिलिङमा जिप्सम बोर्ड लगाइएको इन्जिनियर चन्दन राज दासले बताए ।

नेपाल रेडक्रस सोसाइटीले १–१ थान वाटर कुलर र वाटर ट्यांकी, २ टन क्षमताका इन्भर्टरयुक्त ४ वटा एसी, ८ वटा पंखा, ६० सिट क्षमताको फलामको कुर्सी ३ सिटे २० थान, १४ वटा एलइडी बल्ब लगायत सहयोग गरेको दासले जानकारी दिए ।

कुलिङ्ग सेन्टर उद्घाटनको औपचारिक कार्यक्रमको सञ्चालन गर्दै आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यसले बसपार्क आउने यात्रुहरूलाई राहत हुने बताएका थिए ।

कुलिङ सेन्टर उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, विपद् समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रताप सिंह, वडा नम्बर ४ का वडा अध्यक्ष
गोपाल पुन, नेपाल रेडक्रस सोसाइटी बाँकेका निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version