कोहलपुरमा बाघ–हात्तीको मूर्ति, नेपालगन्जमा छाडा गोरुको राज

एउटै बाँके, दुई फरक दृश्य

बाँकेको कोहलपुर चौराहमा अहिले सडकछेउ आकर्षक बनाउँदै वन्यजन्तुका भव्य मूर्ति राखिएको छ भने, नेपालगन्जका सडकमा छाडा चौपायाले ’राज’ गरिरहेको छ । एउटै जिल्लाभित्रको दुई शहर — एउटा सौन्दर्यीकरण र पर्यटन प्रवर्धनमा जुटिरहेको छ, अर्कोतर्फ अर्को शहर अझै अराजक छाडा चौपायाको समस्यामा अल्झिएको देखिन्छ ।

कोहलपुर नगरपालिकाको सहयोगमा बाँके राष्ट्रिय निकुञ्जले चौराहामा बाघ, चौका र हात्तीका मूर्ति राखेका छन् । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार, ‘यसले पर्यावरणीय सन्देश दिन्छ, पर्यटन प्रवर्धन गर्छ र चौराहाको रूप नै फेरिएको छ । ” चितवनबाट मगाइएका फाइबरका मूर्ति टुट्ने, फुस्रिने डरबिनाको मजबुत संरचना भएका छन् ।

तर यो दृश्यबाट १६ किलोमिटर मात्र टाढा रहेको नेपालगन्जमा भने अर्कै समस्या छ — छाडा चौपायाको सडक राज !

त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, गणेशमान चोक लगायत मुख्य चोक र सडकहरूमा अहिले फेरि घोडा, खच्चर, गाई र गोरु खुल्ला रुपमा हिंडिरहेका छन् । वर्षा सुरु भएपछि सडक चौपायाको अस्थायी आश्रयस्थलजस्तै बनेको स्थानीयले बताएका छन् ।

सर्वसाधारण यात्रु भन्छन्, ‘बाइक चलाउँदा डर लाग्छ, सडक हाम्रो हैन चौपायाको हो कि जस्तो लाग्छ ।’ नियन्त्रण गर्न नसकिएकोमा आक्रोशित व्यापारी भन्छन्, ‘पसल अगाडि गाई दिसा गर्छ, ग्राहक नै फर्किन्छन् ।’

यता, उपमहानगरपालिका भने समाधान खोज्दैछ भन्दै आएको छ । तर ’काञ्जि हाउस’ हुँदाहुँदै पनि व्यवस्थापन प्रभावकारी नहुनु स्थानीय सरकारको कमजोरी मानिएको छ ।

जिल्लाका दुबै सहर नियालिरहेका बाँकेवासी भन्छन्, ‘कोहलपुरले मूर्तिको माध्यमबाट वन्यजन्तु र पर्यटनको सन्देश दिइरहँदा, नेपालगन्जले वास्तविक चौपाया व्यवस्थापन गर्न नसक्नु दुःखद विडम्बना हो ।’

Exit mobile version