उमेरले सत्तरी नाघेकै दिन जन्मोत्सवको भख्य समारोहबीच बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको कृति ‘संगीत स्वर सरगम’ लोकार्पण गरिएको छ ।
भव्य नागरिक अभिनन्दनसहित सात जना बालबालिकाले संयुक्तरुपमा वरिष्ठ कलाकार श्यामानन्दको कृति लोकार्पण गरे । ‘सम्भवत देशमै यो पहिलो संगीत सिकाउने सरल कृति हो,’ पुस्तक प्रकाशनको सार्वजनिक अभिभारा उठाएका हरित अभियन्ता हेमन्तराज काफ्लेले भने ।
संगीत, कलाका प्रतिभाशाली ब्यक्तित्व श्यामानन्दले बर्षौंदेखि प्रकाशन गर्न चाहेको पुस्तक प्रकाशन गर्ने वातावरण मिलाउन पाएको भन्दै काफ्लेले खुसी ब्यक्त गरे ।
नेपालगन्ज निवासी श्यामानन्दको पुस्तक ‘संगीत स्वर सरगम’ को लोकार्पण लेखकको जन्मोत्सव पारेर असल शासन मिडियाले आयोजना गरेको कार्यक्रममा गरिएको हो ।
त्यस अवसरमा श्यामानन्दको जन्मोत्सव मनाइनुका साथै उनलाई नागरिकस्तरबाट विभिन्न प्रतिनिधिमूलक सहभागिताले अभिनन्दन गरेको थियो ।
असल शासन मिडिया कार्यबाहक अध्यक्ष डिला शाहको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणाले श्यामानन्दको कलाको प्रशंसा गरे । लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले कलाकार श्यामानन्दबारे धारणा राखिन् ।
संगीत अनुरागीहरुका लागि पुस्तक उपयोगी हुनेछ । कार्यक्रमको सञ्चालन असल शासन मिडियाका नमस्कार शाहले गरेका थिए । कार्यक्रममा श्यामानन्दले आफ्ना कला सिर्जनालाई संग्रहालय बनाउने इच्छा व्यक्त गरेका थिए ।