राजधानी घेर्दै सुनचाँदी व्यवसायी

नेपाल सरकारद्वारा लागू गरिएको अव्यवहारिक कर नीतिको विरोधमा नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ संयुक्तरूपमा आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले शनिवार नयाँ चरणको कार्यक्रम तय गर्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यसक्रममा राजधानी काठमाडौंमा खबरदारीसभा सम्मका कार्यक्रम तय गरिएका छन् ।

दुवै महासंघको संयुक्त बैठकबाट निर्णय गर्दै देशभरका जिल्ला, नगर, वस्तुगत संघसंस्थाहरूलाई आफ्ना क्षेत्रमा विरोध कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ । ‘त्यसैका आधारमा अबको आन्दोलन अगाडी बढ्छ,’ आन्दोलनका कार्यक्रमबारे जानकारी दिंदै नेपालगन्ज सुनचाँदी व्यवसायी संघका महासचिव सुखनारायण सोनारले दैनिक नेपालगन्जसँग भने ।

विरोध कार्यक्रम अन्तर्गत आज असार २२ गते आइतबार जिल्ला प्रशासन कार्यालय वरपर सांकेतिक विरोध प्रदर्शन गरिनेछ भने भोलि असार २३ गते सोमबार जिल्ला स्थित कर कार्यालय अगाडि प्रदर्शन गरिनेछ ।

त्यसपछि असार २४ गते मंगलबार उपभोक्ता सचेतना अभियान सञ्चालन हुनेछ । असार २५ गते बुधबार भने मोटरसाइकल र्याली गरी विरोध जनाइने छ । त्यसपश्चात असार २६ र २७ गते बिहीबार र शुक्रबार काठमाडौंमा हुने राष्ट्रिय स्तरको वृहत् खबरदारी सभामा सबै संघसंस्थाहरूलाई सहभागिता जनाउन आग्रह गरिएको नेपालगन्ज सुनचाँदी व्यवसायी संघका महासचिव सोनारले जानकारी दिए ।

म्हासचिव सोनारका अनुसार, महासंघका महासचिवहरू नीर बहादुर विश्वकर्मा र किरणभाई बज्राचार्यद्वारा हस्ताक्षरित सूचनामा आन्दोलनका सबै कार्यक्रमहरू शान्तिपूर्ण ढंगले सञ्चालन गरिने उल्लेख गरिएको छ । उनीहरूले सरकारले व्यवसायमैत्री नीतिलाई बेवास्ता गर्दै सुनचाँदी व्यवसायीहरूलाई अन्यायपूर्ण करका भारमा पारेको आरोप लगाएका छन् ।

उक्त आन्दोलनको उद्देश्य भनेको सरकारले अवलम्बन गरेको कर संरचनाको पुनरावलोकन गराउनु, व्यवसायीको आवाजलाई सुन्ने वातावरण तयार गर्नु र उचित कर प्रणाली लागू गराउनु रहेको महासंघले जनाएको छ ।

सांसद राणाको ‘साथ’

बाँके निर्वाचन क्षेत्र नम्बर २ का सांसद डा. धवल शम्शेर राणाले सुनचाँदी व्यवसायीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन शनिवार रिले अनसनस्थलमै पुगेर आफ्नो ‘साथ’ रहेको बताएका छन् ।

राप्रपा महामन्त्रीसमेत रहेका डा. राणाले गणतन्त्र फेल भएको तर्कसमेत गरे । आन्दोलनरत व्यवसायीहरुले आफ्ना समस्याहरु प्रतिनिधिसभामा राखिदिन सांसद राणासँग आग्रह गरेका थिए ।

नेपालगन्ज सुनचाँदी व्यवसायी संघले आयोजना गरेको रिले अनसनमा वक्ताहरुले सरकारले पछिल्लो वजेटमार्फत नेपालमा सुनचाँदी व्यवसाय धराशयी पार्नेगरि कदम चालेको गुनासो गरे । ‘यसले लाखौं हामी व्यवसायीलाई बेरोजगार बनाउँदैछ, हाम्रो मौलिक कलासमेतलाई धराशयी बनाउँदैछ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष बुद्धि बहादुर बिकले भने ।

संघका अध्यक्ष सलाउद्दिन जसगढको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, रत्न आभुषण संघका प्रदेश अध्यक्ष देविलाल बिक, नेपालगन्ज सुनचाँदी कालीगढ संघका अध्यक्ष धनबहादुर बराललगायतले विरोधसभामा बोलेका थिए ।

उनीहरुले सुनचाँदीलाई विलासिता श्रेणीमा राख्ने सरिकारी नीतिनै गलत भएको भन्दै बढीमा ६ प्रतिशत करको दायरामा सुनचाँदी व्यवसायलाई ल्याउन सुधारको माग गरे ।

Exit mobile version