पत्रकारितामा मातृभाषा

पत्रकारितामा मातृभाषाले मुलुकको पहिचानलाई मजबुत बनाउने बताइएको छ । नेपालगन्जमा आइतवार राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको छलफलमा वक्ताहरुले स्थानीय मिडियाले स्थानीय भााषाको संरक्षणका लागि योगदान गर्नुपर्ने बताए ।

‘रासस अवधी समाचार सेवा अन्तरक्रिया’का सहभागीले सरकारको विश्वसनिय समाचार संंस्था राससले उत्पादन गरेको अवधी भाषाको समाचार अन्य सञ्चारमाध्यमका लागि अति उपयोगी भएको बताएका थिए । पछिल्लो समय सञ्चारमाध्यममा स्थानीय विषयवस्तुको खोजी, जनशक्ति, तथा स्रोत साधन अभावको बेला यो सेवाले ठूलो सहयोग गरेको कार्यक्रमका सहभागी वक्ताहरुको भनाइ थियो ।

रासस नेपालगन्जका प्रमुख युवराज पाण्डेको अध्यक्षमा गरिएको कार्यक्रममा अवधी भाषाको समाचार समीक्षा गरिएको हो । ‘अवधी समाचार सेवाको प्रभावकारिता बढ्दै गएको छ,’ पाण्डेले भने । राससले नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा डेढ वर्ष अघि अवधी समाचार सेवाको सुरुआत गरेको थियो ।
कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले भाषाभाषीमा राससले समाचार दिन थालेपछि सकारात्मक परिणाम देखा परेको बताए । ‘मातृभाषामा पत्रकारिता गर्न गा¥हो भइरहँदा राससले मिडियालाई कन्टेन उपलब्ध गराइरहेको छ,’ अध्यक्ष झाले भने ।

अध्यक्ष झाले अवधी भाषाको विकास, संरक्षण तथा सम्बद्र्धनमा टेवा पुगेकाले सेवा भरपुर रूपमा सदुपयोग गर्न सुझाव दिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले स्थानीय भाषा, संस्कृतिको विकास तथा संरक्षणका लागि स्थानीय सरकारको भूमिका बढी भएकाले थप साधन स्रोतको व्यवस्थापन गरी सेवाको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मीले अवधी, भाषा र सहित्यको विकासमा सञ्चारमाध्यमको भूमिका बढी रहेकाले अवधी समाचार सेवाको प्रयोग तथा पहँुच बढाउनुपर्ने बताए ।

कार्यकारी अध्यक्ष झाले राससले पाठकको लेखन र पठन संस्कृतिको विकास गर्ने योजना अनुरूप मातृभाषाका समाचार सेवालाई प्राथमिकताका साथ अघि बढाएको बताए । उनले समुदायका वास्तविक सवालको पहिचान गरी खोजमुलक पत्रकारितामार्फत जनतालाई सुसुचित बनाउने काम राससले गरिरेको जानकारी गराउँदै मातृभाषा समाचार सेवाको प्रभावकारीता बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन अवधी भाषाका समाचार सम्पादक राकेशकुमार मिश्रले गरेका थिए ।

Exit mobile version