मानव सभ्यताको इतिहासलाई नियाल्ने हो भने प्रकृतिसँगको सम्बन्ध अपरिहार्य देखिन्छ । रुखहरू मानव जीवनका संरक्षक हुन् । यिनको छायाँ, हावा अक्सिजन र औषधीय गुणले हामीलाई बाँच्न सिकाउँछ ।
यिनै वृक्षमध्ये एउटा विशेष वृक्ष छ राज वृक्ष, जसलाई हामी अमलतास वा बादरको लाठ्ठी भनेर चिन्ने गर्छौ । यसलाई अंग्रेजीमा गोल्डेन सावर भनिन्छ र संस्कृतमा यसलाई आरग्वध अर्थात् रोग हटाउने वृक्ष को रूपमा चिनिन्छ । चैतदेखि जेठसम्म जब अमलतास फूल्न थाल्छ तब पूरै बोट पहेँलो सुनौलो फुलको लहराले ढाकिन्छ । धर्ती माताले पहेँलो साडी ओढेकी हो कि जस्तो देखिन्छ । कतिपय ठाउँमा त मानिसहरू अमलतास फुल्ने समयलाई नयाँ वर्षको आगमनको संकेतका रूपमा पनि लिन्छन् । तर यसको महत्त्व फूलको सौन्दर्यभन्दा धेरै गहिरो छ । आयुर्वेद, वातावरण, जैविक विविधता, धार्मिक परम्परा सामाजिक सौन्दर्य र चिकित्सा विज्ञानका दृष्टिले अमलतास वृक्षलाई राज वृक्ष को उपाधि दिइएको हो ।
अमलतासको हरेक भागमा औषधीय गुण हुन्छ पात, बोक्रा, फल, गुदी, फुल र जरासम्म । यसलाई आयुर्वेदमा त्रिदोषहर औषधिका रूपमा वर्णन गरिएको छ । यसले वात, पित्त ग्यास्टिक र कफलाई सन्तुलनमा राख्छ । विशेष गरी यसको फलको गुदी कब्जियतको लागि प्रयोग गरिन्छ । यो प्राकृतिक रेचक हो जसले शरीरभित्रको विषाक्तता सफा गर्छ । पुराना वैद्यहरूले यसलाई सन्तुलित आन्द्रा प्रणालीको कुञ्जी मानेका छन् । अर्को उल्लेखनीय पक्ष यसको चर्म रोग निवारण क्षमता हो । अमलतासको पातको रस वा यसको लेप चर्मसम्बन्धी समस्या फोका, गाज, चिलाउने आदि मा निकै प्रभावकारी हुन्छ । ज्वरो, पाचन समस्या, श्वासको कठिनाइ र पित्तको असन्तुलनमा यसको प्रयोग गरिन्छ । यस्को पातलाई केरा पकाउन प्रयोग हरिन्थ्यो भनेर बुढा पाकाले भन्ने गछ्र्न । पौराणिक ग्रन्थहरूमा अमलतासको नाम आरग्वध’ राखिनु आफैँमा पर्याप्त संकेत हो यो रोग हटाउने वृक्ष हो यो एक जीवनदायिनी वृक्ष हो मानव जगतको लागि । राज वृक्षको महत्व केवल शरीरको उपचारमा मात्र सीमित छैन यसको वृहत्तर भूमिका पृथ्वीको सन्तुलन कायम राख्नमा छ । यसले ठूलो मात्रामा अक्सिजन उत्पादन गर्छ वायुमण्डलको कार्बनडाइअक्साइड सोस्छ । यसको घना पातहरूले धूलो र विषाक्त कणहरूलाई अवशोषण गर्छ । यति मात्र होइन, गर्मी मौसममा यसको छायाँ शीतल हुन्छ, जसले सहरी तापमान कम गर्न भूमिका खेल्छ ।
सडक किनार, पार्क, विद्यालय, अस्पतालजस्ता ठाउँमा अमलतासको वृक्ष रोप्दा त्यस स्थानले स्वच्छता र मानसिक शान्ति अनुभव गर्छ । यसले शहरी सौन्दर्य र सार्वजनिक स्वास्थ्यमा समान रूपमा योगदान दिन्छ ।
अमलतास, कीरा पतङ्ग र चराचुरुङ्गीहरूको प्रिय वृक्ष हो । यसको फूल मौरी, रसपान गर्ने चरा , पुतली र भमराहरूको लागि आकर्षक हुन्छ । ती परागकणको प्रक्रिया सहज बनाउँछन्, जसले अन्य वनस्पतिमा पनि उत्पादन क्षमता बढाउँछ ।
यसका हाँगामा चराहरू गुड बनाउँछन् । लोखर्के र चराहरूको लागि यो वृक्ष एक सुरक्षित आहार र आश्रय हो । यसरी एक अमलतास वृक्ष केवल मानवका लागि होइन, सिङ्गो पारिस्थितिक प्रणालीका लागि जीवनदायिनी हुन्छ ।
अमलतास नेपाली समाजको संस्कृति र आस्थासँग पनि गहिरो रूपमा गाँसिएको वृक्ष हो । कतिपय क्षेत्रहरूमा यसलाई शुभ लक्षणको रूपमा हेरिन्छ । नववर्षमा फूल फुल्न थालेको देख्दा मानिसहरू त्यसलाई शुभ संकेत मान्छन् । बुद्ध धर्ममा यो वृक्ष शान्तिको प्रतीक हो । कतिपय मन्दिर परिसरहरूमा अमलतास अनिवार्य रूपमा रोपिएको हुन्छ । सहरहरूमा यसको सौन्दर्यले पर्यटकलाई लोभ्याउँछ । यसको फूल झर्दा सडक सुनमा छपक्क ढाकिएको जस्तो लाग्छ । यस्तो दृश्यले समाजमा सौन्दर्य साक्षात्कार मात्र होइन, प्राकृतिक प्रेम र चेतना जगाउने भूमिका पनि खेल्दछ ।
आज अमलतासजस्ता बहुगुणी वृक्षहरू सहरीकरण, अनियन्त्रित विकास, अज्ञानता र अव्यवस्थित व्यवस्थापनका कारण हराउँदै गएका छन् । हामीले सडक चौडा गर्दा रूख फालिदिन्छौं, घर बनाउँदा जरामा जेसीबी लगाउँछौं । फलत यस्तो अमूल्य वृक्ष संकटमा छन् ।
यही कारणले आज राज वृक्षको रक्षा अभियान अपरिहार्य भएको छ । विद्यालय, क्याम्पस र सार्वजनिक संस्थाहरूले अमलतासबारे जानकारी दिने, त्यसको नर्सरी उत्पादन गर्ने एक विद्यार्थी एक अमलतास कार्यक्रम सञ्चालन गर्ने बेला आएको छ । हामी हरेक व्यक्तिले कम्तीमा एक अमलतास वृक्ष रोप्ने प्रण लिनुपर्छ । नगरपालिकाहरूले प्रत्येक सार्वजनिक संरचनामा अमलतास रोप्ने नीति बनाउनु पर्छ ।
राज वृक्ष अमलतास केवल सुनौलो फूल भएको एउटा रुख होइन । यो जीवनशैली हो । यो औषधि हो, सौन्दर्य हो, शान्ति हो, स्वास्थ्य हो । यसले हाम्रो शरीरलाई उपचार दिन्छ, हावालाई शुद्ध गर्छ, किराहरूलाई पराग दिन्छ, मानिसहरूलाई छायाँ दिन्छ समाजलाई प्रेम सिकाउँछ । हामीले यसको महत्व बुझ्न सकेनौं भने हामीले प्रकृतिप्रति अपराध गरिरहेका हुनेछौं । तर यदि हामीले आजैदेखि यसको संरक्षण, प्रचार र प्रवद्र्धनमा जुट्यौं भने, हामीले भावी पुस्तालाई एक सुनौलो धरोहर हस्तान्तरण गर्न सक्नेछौं । अमलतास राज वृक्ष हाम्रो जीवनको अलौकिक हरित उपहार हो । यसको फुलले हामीलाई मुस्कान दिओस्, यसको छायाँले समाजलाई शान्ति दिओस्, र यसको औषधिले मानिसलाई स्वस्थ राख्ने छ त्यसैले यो बहुगुणी बिरुवा लगाउन संरक्षण गर्न निकै जरुरी छ ।