लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले भारतीय पर्यटकप्रति हुने व्यवहारमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपालगन्जमा बिहीबार आयोजित एउटा कार्यक्रममा बोल्दै मन्त्री अग्रवालले भारतीय नम्बर प्लेट देख्नासाथ अपराधीको दृष्टिकोणले हेर्ने प्रवृत्ति हटाउनुपर्ने बताए । त्यसलाई सुधार गर्न उनले स्पष्टसँग प्रहरी अधिकारीहरुलाई आग्रह गरे ।
मन्त्री अग्रवालका अनुसार, सीमा नाकामा सुरक्षाका लागि कडाइ गरिए पनि गाडी भित्रिसकेपछि अनावश्यक चेकजाँच गर्नु पर्यटकलाई दुःख दिने काम हो । उनले आजसम्म भारतीय नम्बर प्लेट भएका गाडीमा ठूलो मात्रामा अवैध सामान फेला परेको कुनै प्रमाण नभएको भन्दै पर्यटकलाई अनाहक दुःख दिइरहनु नहुने बताए ।
मन्त्री अग्रवालले त्यसो भनिरहँदा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेत नारायण आचार्य, नेपाल प्रहरीका प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब महानिरीक्षक राजेन्द्र भट्टलगायत प्रहरी उच्च अधिकारीहरु मञ्चमा थिए । मन्त्री अग्रवालले संघीय सरकारको मातहत भएको भन्दै प्रदेशसँग समन्वय नगरेको गुनासो प्रहरी अधिकारीप्रति गरे ।
संघीय सरकारले हालै विदेशी नागरिकलाई पाँच हजार डलरसम्म नेपाल भित्र्याउने छुट दिएको प्रसंग उल्लेख गर्दै मन्त्री अग्रवालले भारतीय नागरिकले ठूलो मात्रामा नगद ल्याएर यहाँ खर्च गरेमा त्यसलाई कसरी हेर्ने भन्ने प्रश्न उठाएका छन् ।
सटहीका नाममा अनावश्यक दुःख दिँदा पर्यटनमै असर पर्ने भन्दै अग्रवालले प्रहरी प्रशासनलाई सोंच बदल्न आग्रह गरे । प्रहरी व्यवहार सुधारका लागि ध्यानाकर्षण गराउँदै मन्त्री अग्रवालले पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको सन्दर्भमा भारतीय पर्यटकसँग सकारात्मक व्यवहार गर्नुपर्ने धारणा व्यक्त गरे ।
‘यदि एउटा गाडीमा आउने ३÷४ जना भारतीय नागरिकले १५–१६ लाख रुपैयाँ बोकेर नेपाल आउँछन् र खर्च गर्छन् भने, त्यसलाई हामीले ‘सटही’को नाममा दुःख दिन मिल्छ ?’
प्रहरी सुरक्षाको सवाल र पर्यटक आगमनबीचको द्वन्द्वलाई उजागर गरिरहेको मन्त्री अग्रवालको भनाइ पर्यटन व्यवसायीहरुबाट पटक–पटक माग भइआइरहेको सवाल हो ।
ठूलो नगद बोक्दै आउने भारतीय पर्यटकलाई सन्देहको नजरले हेर्ने हो भने त्यो नेपालको पर्यटन उद्योगलाई नै घाटा हुनसक्छ भन्ने सवाल व्यवसायिक क्षेत्रले उठाउँदै आएको छ । प्रहरी कडाईले खासगरी सीमावर्ती क्षेत्रका होटल, व्यापारिक केन्द्र, तीर्थस्थल र गन्तव्यहरू सीधा प्रभावित भइरहेको गुनासो आइरहँदा मन्त्री अग्रवालले त्यसबारे स्पष्ट धारणा राखेका हुन् ।
मन्त्री अग्रवालले हालै बुटवल र कोहलपुरमा सञ्चालनमा ल्याइएको एनपीआर (नम्बर प्लेट रेकग्निसन) प्रणालीलाई प्रदेश सरकारको उपलब्धि भन्दै यसको प्रयोगले दुर्घटना तथा आपराधिक घटनामा संलग्न गाडीहरूको निगरानीमा सहयोग पुग्ने बताए । उनले प्रणालीगत सुधारसहित व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको र प्रहरी प्रशासनले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका छन् ।
प्रदेश सरकारसँग, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग समन्वय गरेर जाँदा सुरक्षा व्यवस्थादेखि पूर्वाधार निर्माणमा सहयोग पुग्ने मन्त्री अग्रवालको बुझाइ छ । ‘हाम्रो मन्त्रालयको आधा वजेट प्रहरीलाई जान्छ,’ मन्त्री अग्रवालले समन्वय नभइरहेको कुराप्रति गृह मन्त्रालयसँग समेत राखेको प्रसंग स्मरण गर्दै भने, ‘प्रदेश सरकारसंग दुरी बनाउनु हुँदैन ।’
प्रदेशलाई हेर्ने प्रहरी दृष्टिकोण बदल्न प्रहरी उच्च अधिकारीप्रति लक्षित गरेरै मन्त्री अग्रवालले आग्रह गरे । लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नतीका लागि गरिएको कार्यक्रममा मन्त्री अग्रवालले नेपाल प्रहरी र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा जोड दिएका हुन् ।