बास्केटबल च्याम्पियनसीप हुँदै

नेपालगन्जमा बास्केटबल च्याम्पियनसिप आयोजना हुने भएको छ । द थ्रि चियर्सले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को सहकार्यमा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

असार २८ गते शनिबारदेखि सुरु हुने यो प्रतियोगिता तीन दिनसम्म निरन्तर चल्नेछ । सहभागी ९ टोलीहरूले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दै उत्कृष्टताको होड गर्नेछन् । महेन्द्र बहुमुखी क्याम्पसको कोर्टमा बिहान र बेलुकाको दुई सत्रमा खेलहरू सञ्चालन हुनेछन् ।

छोटो टिम र द्रुत गतिमा सञ्चालन हुने यस बास्केटबल प्रतियोगितामा नेपालगन्ज, बुटवल, चासपानी लगायत विभिन्न क्षेत्रका युवा खेलाडीहरूको उत्साहजनक सहभागिता रहनेछ। विद्यालय पढ्ने विद्यार्थीहरूदेखि लिएर अनुभवी खेलाडीहरू समेत कोर्टमा आफ्नो कौशल देखाउनेछन् ।

स्ववियू अध्यक्ष केशरजङ शाहका अनुसार, प्रतियोगिता लिग म्याच प्रणालीमा हुनेछ, जसले सबै टिमहरूलाई समान रूपमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनेछ । नेपालगन्जको बास्केटबल गतिविधिलाई नयाँ उचाइमा पु¥याउने हाम्रो उद्देश्य हो ।

प्रतियोगिताको विजेता टोलीलाई नगद १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । आयोजक टिमका सागरराज आचार्यले भने, बबास्केटबल कहाँ हरायो भनेर चिन्ता गर्ने होइन, अब नेपालगन्जको कोर्टमा खेलकुदको नयाँ ऊर्जा गुञ्जनेछ । शहरका युवाहरूले नै यो अवसर सिर्जना गरेका हुन् । नेपालगन्ज तयार छ, बास्केटबलको नयाँ युग सुरु हुँदैछ ।’

सबै तयारी पूरा भइसकेको आयोजकहरूको भनाइ छ । खेलप्रेमीहरूका लागि यो सप्ताहन्त उत्साह र जोशले भरिएको हुनेछ ।

Exit mobile version