नीलगाई नियन्त्रणका लागि जैविक गन्धयुक्त औषधिको सफल परीक्षण

वर्षौंदेखि नीलगाई, बाँदर र बँदेलजस्ता वन्यजन्तुबाट हैरान मधेसका किसानका लागि जैविक गन्धयुक्त औषधिको सफल परीक्षण गरिएको छ ।

धनुषाको मिथिला विहारी नगरपालिकामा अवस्थित मिथिला ‘वाइल्ड लाइफ’ ट्रष्टले यस्ता वन्यजन्तु नियन्त्रण गर्न जैविक गन्धयुक्त औषधिको सफल परीक्षण गरेको ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिनुभएको छ । यसका लागि करिब छ महिना लागेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गत पुसदेखि सुरु भएको अनुसन्धान जिल्लाका धनुषाधाम नगरपालिका, कमला नगरपालिका, बटेश्वर गाउँपालिका, जनकनन्दिनी गाउँपालिकाको तीन–तीन वटा किसानको खेतबारीमा अनुसन्धान गरी औषधि तयार पारिएको हो ।

तामिलनाडु कृषि विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक गर्नुभएका सिरहाका सुमित झाको नेतृत्वमा सात जना प्राविधिक टोलीको सहयोगमा औषधि तयार गरिएको हो ।

झासहित यस अनुसन्धानमा वातावरण विज्ञानका सचिनकुमार सिंह, वन्यजन्तु अनुसन्धान प्राविधिक अमरनाथ यादव, रविनन्दन ठाकुर, चालक–प्राविधिक सन्तोष महतो, प्राविधिक प्रदीप राम, गौतमराज मण्डल र सहजकर्ताका रुपमा अध्यक्ष मण्डलले सहयोग गर्नुभएको थियो । उक्त परीक्षणले खेतबारीमा नीलगाई प्रवेश न्यूनीकरण गर्न सकिने पुष्टि भएको अध्यक्ष मण्डलले बताउनुभयो ।

उक्त औषधि लसुन, माछाको फोहर, छाछ, असुरो, निर्गुण्डी, अकौन, बकाइन, धतुरा, बङ्गरेरा र गाईको गोबरजस्ता जैविक पदार्थबाट बनाइएको हो । औषधिमा गौमूत्र मिसाएर परीक्षणका क्रममा औषधि छरिएका खेतमा नीलगाई १२ देखि २८ दिनसम्म नदेखिएको वा देखिए पनि बाली नखाएको अध्यक्ष मण्डलको दाबी छ ।

परीक्षणका क्रममा खेतमा स्वचालित क्यामेरा ट्र्याप जडान गरी वन्यजन्तुको गतिविधि निगरानी गरिएको थियो भने प्रत्यक्ष रूपमा किसान तथा टोलीका सदस्यले नियमित अनुगमन गरेको अध्यक्ष मण्डल बताउनुहुन्छ ।

“यो औषधि पहिलोपटक सन् २०१६ मै तयार गरिएको थियो”, अध्यक्ष मण्डलले भन्नुभयो, “तर त्यसबेला नीलगाईलाई हामीले १७ दिनसम्म मात्र रोक्न सफल भएका थियौँ र पछि स्रोत र साधनको अभावमा परीक्षण रोकिएको थियो ।” यसपटक भने पीपल ट्री, लालोमलिना र लिली लिभ्सको प्राविधिक सहयोगमा परीक्षण गरिएको उहाँको भनाइ छ ।

ट्रस्टका अध्यक्ष मण्डलले यो विधिलाई सामुदायिक प्रयोगका लागि खुला राखिने बताउनुभयो । अनुसन्धानको अन्तिम प्रतिवेदन चाँडै सार्वजनिक गर्ने उहाँले बताउनुभयो । शोधकर्ताले यो प्रयासले मधेसका किसानलाई ठूलो राहत दिने र कृषि क्षेत्रलाई वन्यजन्तुबाट सुरक्षित राख्न योगदान पुग्ने विश्वास लिइएको अध्यक्ष मण्डलको विश्वास छ ।

Exit mobile version