सिद्धार्थमा ‘मैंगो कर्निभल २०८२’

नेपालगन्जको सिद्धार्थ होटलले ‘मैंगो कर्निभल २०८२’ को आयोजना गरेको छ । शुक्रवार आयोजित यो कार्यक्रम स्वाद, मनोरञ्जन र आँपप्रति विशेष समर्पणको उत्सवका रूपमा मनाइएको सिद्धार्थका सेल्स एण्ड मार्केटिङ हेड नविन भट्टले जानकारी दिए ।

फलको राजा भनेर चिनिने आँपलाई केन्द्रमा राखेर तयार गरिएको यो कर्निभलमा आगन्तुकलाई स्वागत पेयबाट सुरु गरेर लाइभ काउन्टरमार्फत तयार गरिएका परिकार, मुख्य भोजनमा आँपको स्वाद मिसाइएका विशेष परिकार, विविध मिठाइहरू, आँप डेसर्ट बफेट र लाइभ कुकिङ डेमोमार्फत रमाइलो अनुभव दिलाइएको भट्टको भनाइ छ ।

‘होटल सिद्धार्थ नेपालगन्जले पहिलोपटक आयोजना गरेको यो कर्निभलले स्थानीय तथा अन्तर्राष्ट्रिय पाहुनाहरूको मन जित्न सफल भएको छ,’ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपानेले भने । सिद्धार्थका अनुसार, १० भन्दा बढी किसिमका आँपहरूको स्वादसहित तयार गरिएको विशेष परिकार र रेसिपीहरूले कार्यक्रममा उपस्थित पाहुनालाई अनुपम अनुभव दिलाइएको थियो ।

‘कार्यक्रममा नेपालभित्रका अतिथिसँगै छिमेकी मुलुक भारतबाट आएका पाहुनाहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो,’ सेल्स एण्ड मार्केटिङ हेड भट्टले भने, ‘भारतीय पाहुनाहरूले नेपालको सीमावर्ती सहरमा यस्तो किसिमको अनौठो र स्वादिलो कार्यक्रम अनुभव गर्न पाउँदा खुशी व्यक्त गरे ।’

कार्यक्रममा दशहरी, चौसा, तोतापरी, अम्रपाली, लंगडा लगायतका १० भन्दा बढी किसिमका नेपाली र भारतीय आँपहरू प्रस्तुत गरिएका थिए । आँपको स्वाद समेटिएका विभिन्न परिकारहरू — म्याङ्गो टिक्का, म्याङ्गो सलाद, म्याङ्गो पनिर, म्याङ्गो कुल्फी, म्याङ्गो मोकटेल लगायत — ले पाहुनाहरूको ध्यान तानेको सिद्धार्थले जनाएको छ ।

‘यसखालको कार्यक्रमले मौसमी फलको प्रवद्र्धन मात्र होइन, पर्यटन प्रोत्साहनमा समेत योगदान पु¥याउनेछ,’ होटलका व्यवस्थापक भन्छन्, ‘भविष्यमा थप यस्ता फुड फेस्टिभलहरू आयोजना गरिने योजना पनि बनाइएका छन् ।’

कार्यक्रममा सहभागी स्थानीय तथा भारतीय पाहुनाहरूले यस्तो स्वाद र थिममा आधारित फेस्टिभल पहिलोपटक अनुभव भएको बताए । स्वाद, सजावट र आतिथ्य व्यवस्थाले सबैलाई मोहित बनाएको उनीहरूको प्रतिक्रिया थियो ।

Exit mobile version