टिआरटिआई कलेज, नेपालगन्जले कलेजमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहनस्वरूप ल्यापटप वितरण गरेको छ । शुक्रबार आयोजित एक विशेष समारोहमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यमा विविए दोस्रो सेमेष्टरका २९ जना मेधावी विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको हो ।
कलेजका कार्यकारी निर्देशक भगत नेपालीका अनुसार, विद्यार्थीलाई अध्ययनमा थप सहजता ल्याउने र डिजिटल शिक्षामा रुचि बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले यस्ता पहलले विद्यार्थीको मनोबल उच्च बनाउने मात्र नभई कलेजलाई समेत उत्कृष्ट शिक्षण संस्थाको रुपमा अघि बढ्न मद्दत गर्ने बताए । टिआरटिआई सुदुरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो ।
कार्यक्रममा प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य, कलेजका सदस्य गणेशमान आचार्यसहित अन्य विशिष्ट अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गर्दै माहोललाई उल्लासमय बनाएका थिए । साथै, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन प्राप्त टिआरटिआई कलेजले समयानुकूल, प्रविधिमैत्री र गुणस्तरीय विविए शिक्षा प्रदान गर्दै आएको बताइएको छ । यो पहलले कलेजको शैक्षिक दिग्दर्शकतालाई अझ सबल बनाएको छ ।