नेपालगन्जकी नविना रानाभाट एक्टिङ स्टारमा चम्किँदै

अब तपाईँको साथ र भोटको पर्खाइमा

नेपालगन्जकी नविना रानाभाटको अभिनयले अहिले राष्ट्रिय टेलिभिजनको पर्दा तताइरहेको छ । एक्टिङ स्टार नामक रियालिटी शोमा निर्णायकहरूलाई पटक–पटक प्रभावित पार्दै नविना अब टप १५ मा प्रवेश गरिसकेकी हुन् । तीन सय प्रतिष्पर्धीबाट २० हुँदै १५ उत्कृष्ट अभिनयमा छनोट नविनाको सफलतामा अब भोटको लोकप्रियता जोडिंदै जाने भएको छ ।

अभिनयका हरेक प्रस्तुतिमा नयाँ पात्र, गहिरो भाव र सशक्त संवादमार्फत नविनाले दर्शकको मन जितिरहेकी छन् । र, निर्णायकहरू—नीर शाह, अनुप बराल र ऋचा शर्मा—तीनै जना बारम्बार उनको अभिनयले मुग्ध भएका छन् ।

नीर शाहले उनको अभिनयलाई ‘गड गिफ्टेड’ भनेका छन्, ऋचा शर्माले अंकमाल गरेर प्रोत्साहित गरेकी छन् भने अनुप बरालले नविनालाई ‘एकदमै राम्रो पर्फमेन्स गर्न तयार कलाकार’ मानेका छन् । त्यो उपलब्धि, जुन अभिनयले सम्भव भयो, त्यो अब भोटले निरन्तरता पाउनेछ कि छैन भन्ने प्रश्नमा निर्भर छ—तपाईँको एक भोटमा ।

‘अहिले नविनाले अभिनयको मञ्चमा जे देखाइरहेकी छन्, त्यो केवल उनको सपनाको यात्रा होइन, नेपालगन्जको गर्व पनि हो,’ नविनाका पिता भीमबहादुर रानाभाट भन्छन्, ‘त्यसैले, यो क्षणमा उनको साथ दिनु भनेको एउटा सशक्त कलाकारको सपना सजाउने हात बन्नु हो ।’ नविनाले नेपालगन्जको प्रतिनिधित्व गर्ने उनको भनाइ छ ।

‘भोट गर्नुहोस्, नविनाको अभिनय यात्रालाई थप उचाइ दिनुहोस्, किनभने अभिनय उनले गरिरहेकी छन्, तर जित तपाईँको भोटले तय गर्नेछ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव रानाभाटले छोरी नविनाका लागि अपील गर्दै दैनिक नेपालगन्जमार्फत भने । भोटिङ गर्नका लागि ओएसआर कनेक्ट एप डाउनलोड गरि एक्टिङ स्टारमा गएर नविनाको तस्विरमा क्लिक गरेपछि चाहे अनुसारको भोट गर्न सकिने व्यवस्था गरिएको छ ।

Exit mobile version