भेरी अस्पताल र रेडक्रसबीच पहिलोपटक औपचारिक सम्झौता

२४ सै घण्टा रक्तसञ्चार सेवा

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा र भेरी अस्पताल विकास समितिबीच आइतवार महत्वपूर्ण सम्झौता भएको छ । २०३३ सालदेखि भेरी अस्पताल परिसरमै सेवा दिँदै आएको रक्तसञ्चार केन्द्रले पहिलोपटक औपचारिकता प्राप्त गरेको हो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह र रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झनाबीच हस्ताक्षरित सम्झौताले अब रक्तसञ्चार सेवा अझ प्रभावकारी, नियमित र गुणस्तरीय हुने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार २४ घण्टा सेवा संचालन, घुम्ती रक्तसङ्कलन कार्यक्रम नियमित सञ्चालन, अत्याधुनिक प्रविधिको प्रयोग र पाँच वर्षमा सम्झौता नवीकरणको व्यवस्था गरिएको छ ।

नयाँ सेवा भवन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा रेडक्रस बाँकेको समन्वयमा निर्माण गरिएको हो, जुन अस्पताल परिसरको पश्चिम पट्टि चारवाहिनी रोडतर्फ अवस्थित छ ।

सम्झौता समारोहमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, नर्सिङ्ग प्रमुख आशा पन्त, लेखा प्रमुख मदन नेपाली, रेडक्रसका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, रक्तसञ्चार समिति संयोजक राजकुमार वर्मा, निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल, प्राविधिक अधिकृत उपेन्द्र रेग्मी लगायतको उपस्थिति थियो ।

‘यो सम्झौता भेरी अस्पताल र रेडक्रसको साझेदारीमा नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ,’ रेडक्रकर्मी भन्छन्, ‘जसले सेवा मात्र हैन, विश्वास र सहकार्यलाई पनि मजबुत बनाउनेछ ।’

Exit mobile version