बाँकेमा ४० प्रतिशत खेत बाँझै

बाँकेमा असार अन्तिम भईसक्दा पनि ४० प्रतिशत खेत बाँझै रहेका छन् । बाँकेमा असार २७ गतेसम्म ५८ प्रतिशत बढी धान रोपाइँ भएको छ । सिचाई पुगेका ठाउँमा धमाधम रोपाई भएपनि पर्याप्त बर्षा नहुँदा आकाशे भरमा रहेका किसानले अझै रोपाई गर्न सकेका छैनन् ।

कृषि ज्ञान केन्द्र बाँकेको तथ्यांक अनुसार जिल्लाका आठवटै स्थानीय तहमा गरी करिब ५८.२५ प्रतिशत धान रोपाइँ भएको जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले भने, ‘२० हजार २ सय १९ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो ।’

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी समेत रहेका वरिष्ठ कृषि प्रसार अधिकृत श्रेष्ठले भने, ‘बाँकेमा असारपछि मात्रै रोपाइँ सुरु हुने भएकाले अहिले भएको रोपाइँ कम भएपनि अघिल्ला वर्ष जस्तै हो, असार अन्तिमसम्म धान रोपाइँको क्षेत्रफल बढ्ने निश्चित छ ।’

वर्षातको अभावमा घरमा खानेपानीको धारा, मोटर तथा पम्पसेटको प्रयोग गरी जेठमै बिउ राखेका किसानहरू यतिबेला बर्षात नभएपछि बिउ बुढो हुने चिन्तामा परेका छन् । बाँकेमा जिल्लाभर ३४ हजार ७ सय ११ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण भए पनि शाखा नहरको काम समयमै सम्पन्न नभएका कारण किसानले पर्याप्त लाभ लिन सकेका छैनन् । जसका कारण किसानहरू अहिले पनि आकाशे वर्षाको भर पर्न बाध्य भएका छन् ।

लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तका अनुसार, लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी कूल ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ । यसमध्ये तीन लाख दुई हजार नौ सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ ।

लुम्बिनी प्रदेशमा कुल खेतीयोग्य जमिन ५ लाख ३९ हजार ४ सय ४३ हेक्टर रहे पनि धान खेती ३ लाख ११ हजार हेक्टरमा हुने गरेको हो । सरदर ११ लाख ८५ हजार ४ सय ९३ मेट्रिक टन धान उत्पादन हुने लुम्बिनीमा दुई लाख ७६ हजार आठ सय १९ हेक्टर क्षेत्रफल मात्र सिञ्चित क्षेत्रफलको रूपमा रहेको छ । कूल ग्राहर््स्थ उत्पादनमा १४ दशमलव ८ प्रतिशत योगदान गरेको लुम्बिनी प्रदेशमा कृषि गणना २०६८ अनुसार ६ लाख ९२ हजार ९ सय ८२ कृषक परिवार संख्या रहेको छ । रोपाइँ ढिलो हुनुमा पानी नपर्नु मात्र एक कारण होइन । किसानले समयमा मल पाएनन्, ईन्धनको मूल्य बढ्दा पनि अधिकांश किसान समयमै खेत जोत्न सकेनन् । खेत जोत्न देखि लिएर पम्पिङ्ग सेटबाट तानेर खेतमा पानी लगाउन अत्यन्तै महँगो पर्ने भएको हुनाले समयमै खेत रोप्न नसकेको किसानको गुनासो छ ।

Exit mobile version