दुर्घटनामा गयो पत्रकारको ज्यान

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद बस्याल (राकेश) को आइतबार मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । उनको सोमवार स्थानीय भादा नदीमा अन्तिम संस्कार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डीएसपी चक्र डमर पालका अनुसार, शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार, हुलाकी सडकको सोही पालिका–८ स्थित गणेश चोकमा मोटरसाइकल अनियन्त्रित भई पछाडि बसेका बस्याल गम्भीर घाइते भएका थिए ।

साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो,’ प्रत्यक्षदर्शीलाई उदधृत गर्दै प्रहरीले भन्यो, ‘मोटरसाइकल चालक विष्णु पौडेल घाइते भई गुलरियामा उपचार भइरहेको छ ।’

घटनामा घाइते बारबर्दिया नगरपालिका–४ का साइकल यात्रु प्रदिप थारु उपचार पछि घर फर्केको प्रहरीले जनाएको छ । ५७ वर्षीय बस्याल दुई कार्यकाल पत्रकार महासंघ, बर्दियाका अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष बनेका थिए ।

दाहसंस्कारअघि नेपाल पत्रकार महासंघ बर्दियाले शोकसभा आयोजना गरेको छ । शोकसभामा शाखा अध्यक्ष निर्मल घिमिरेले बस्यालको निधनले बर्दियाका पत्रकारले असल अभिभावक गुमाएको बताए ।

Exit mobile version