सरकारले व्यवस्था गरेको स्वास्थ्य बीमा अन्तर्गत उपचार सेवा लिन चाहनेहरूका लागि सेवा झन्झटिलो बनाएको छ । स्वास्थ्य बीमा अन्तर्गत यसअघि सहजै सेवा पाइने अस्पतालहरूलाई रेफर सेन्टर बनाउँदै अपायक स्थानमा रहेका स्वास्थ्य संस्थालाई प्रथम बिन्दु तोक्दै स्वास्थ्य बीमा तोक्दै बीमा सेवाबाट स्वास्थ्य उपचारलाई सरकारले झन्झटिलो बनाएको हो ।
‘बाँके मात्रै होइन देशभरका विभिन्न स्थानमा प्रथम बिन्दु अपायक ठाउँमा तोकेर सहुलियतमा नागरिकले सेवा लिन सक्ने अवस्थाबाट सरकारले वञ्चित गर्न खोजेको देखिन्छ’, नेपालगन्जका एक स्थानीयले भने ।
स्वास्थ्य बीमा बोर्डले साउनबाट लागू हुने गरी प्रथम सेवा विन्दु तोकिएका स्वास्थ्य संस्थाको सूची जारी गरेको थियो । प्रथम बिन्दुबाट सिफारिस भएपछि मात्रै रेफरल अस्पतालमा स्वास्थ्य बीमाको सुविधा उपलब्ध हुनसक्छ ।
स्वास्थ्य बीमामा आबद्ध बीमितलाई बीमा बोर्डले ३ सय ७७ वटा प्रथम सेवा विन्दुको सूची सार्वजनिक गरेको छ । साउनदेखि लागू हुने गरी बीमा बोर्डले सामुदायिक र निजी स्वास्थ्य संस्था प्रथम सेवा विन्दु नरहने व्यवस्था गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले बाँकेको चार वटा स्वास्थ्य केन्द्रलाई मात्रै प्रथम बिन्दुका रूपमा सूचिकृत गरेको छ । बीमा बोर्डले बाँकेमा प्रथम सेवा विन्दुका रूपमा नगर अस्पताल कोहलपुर, लक्ष्मणपुर प्राथमिकता स्वास्थ्य केन्द्र नरैनापुर, खजुरा प्राथमिकता स्वास्थ्य केन्द्र र बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई तोकेको छ । बिमित बिरामीहरूले पहिलो चरणमा प्रथम सेवा विन्दुबाट सेवा लिनु पर्नेछ ।
प्रथम सेवा विन्दुबाट रिफर भएका बिरामीहरूले प्रेषण केन्द्रका रूपमा रहेका भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, फत्तेवाल आँखा अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल मध्ये जुनसुकै बाट सेवा लिन पाउने छन् ।
बाँके लगायत देशका विभिन्न ठाउँमा प्रथम बिन्दु तोकिंदा सेवाग्राहीलाई अपायक पर्दा त्यसले बीमितले अनावश्यक दुःख पाउने देखिन्छ भने प्रेषक केन्द्रमा यसअघि हुने बिरामीहरूको भीडभाडमा भने कमी आउने छ ।
स्वास्थ्य बीमा बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले बीमितले तोकिएको एक मात्र प्रथम सेवा विन्दुबाट प्रथम सेवा लिनुपर्ने अवस्था रहेकोमा स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ मा भएको संशोधन अनुसार मिति २०८२ श्रावण १ गतेदेखि लागु हुने गरी स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दुको रूपमा तोकेका जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट बीमितले सेवा लिन सक्ने व्यवस्था गरेको बताएका छन् ।
उनीद्वारा जारी सूचनामा उल्लेख छ, ‘अनावश्यक प्रेषण गरेको पाईएमा दाबी समिक्षा तथा मुल्यांकन गर्दा त्यस्तो रकम शोधभर्ना नगरिने साथै नियमानुसार भैजाने व्यहोरा समेत अनुरोध छ ।’
भेरी अस्पताल नेपालगन्जले पनि सूचना जारी गरेर स्वास्थ्य बीमा सेवा लिनका लागि प्रेषणपूर्जा (रेफर) अनिवार्य गरेको छ । अस्पतालले प्रेषण पुर्जा बाहेकका बिरामीको आज साउन १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गत उपचार गर्न नसकिने सूचना जारी गरेको छ ।
अस्पताल प्रशासनले बुधबार सूचना जारी गर्दै भेरी अस्पताल स्वास्थ्य बीमा उपचारका लागि रेफरल सेन्टर मात्रै भएको उल्लेख गरेको छ । ‘भेरी अस्पतालमा मिति २०८२÷०४÷०१ देखि स्वास्थ्य वीमा अन्तर्गत सेवा लिन इच्छुक विमित सेवाग्राहीहरूले सम्बन्धित स्वास्थ्य संस्था वा प्रथम सेवा केन्द्रबाट प्राप्त आधिकारिक क्ष्उि÷प्रेषणपूर्जा लिएर आएको खण्डमा मात्र भेरी अस्पतालमा स्वास्थ्य वीमा सेवा लिन सकिने व्यहोरा सबै सम्बन्धित सरोकारवाला÷विभाग÷शाखा÷ईकाइहरूलाई जानकारीको लागि अनुरोध गरिन्छ’, अस्पतालले सूचनामा भनेको छ ।