नेपालगन्ज उप–महानगरपालिकाले श्रम संसार प्रणाली प्रयोगमा ल्याउने भएको छ । त्यसका लागि सार्वजनिक सूचना प्रकाशित गरेको उप–महानगरपालिकाले पहिलो वर्ष २ सयलाई रोजगारीसँग जोड्ने लक्ष्य राखेको हो ।
प्रकाशित सूचनाअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा श्रम तथा रोजगार सेवाहरूलाई एकीकृत रूपमा प्रवाह गर्ने उद्देश्यले श्रम संसार प्रणालीको सुधार गरिएको छ । ‘यस प्रणालीमा अनलाइनबाटै श्रमिकहरूले सेवा प्राप्त गर्न सक्नेछन्,’ नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले प्रकाशित सूचनामा भनेका छन् ।
उप–महानगरपालिकाका रोजगार शाखा प्रमुख मन्जु ज्ञवालीका अनुसार, रोजगारदाताले यस प्रणालीमार्फत रोजगारीका अवसरहरू÷विज्ञापनहरू प्रकाशित गर्न सक्नेछन् । ‘तालिम प्रदायकहरूले पनि यसै प्रणालीमार्फत तालिमका अवसरहरू÷विज्ञापनहरू प्रकाशित गर्न सक्नेछन्,’ ज्ञवालीले भनिन् ।
उप–महानगरपालिकाले दिएको जानकारीमा ‘सेवा प्रदायकहरूले श्रम संसारमा अनलाइन दर्ता भई सेवाको विज्ञापन यसै प्रणालीमार्फत गर्न सक्ने’ उल्लेख छ । ‘रोजगारीको खोजीमा रहेका व्यक्तिहरूले श्रम संसारमा अनलाइन दर्ता भई प्रोफाइल बनाएर दाताको विज्ञापनमा आवेदन गर्न र रोजगारीका अवसरका लागि सूचित हुन सक्नेछन्,’ रोजगार संयोजक ज्ञवालीले भनिन् ।
‘हामीले श्रमसंसार भर्खर मात्रै सुरू गरेका छौं, सफलता कत्तिको हुन्छ थाहा छैन,’ रोजगार संयोजक ज्ञवालीले दैनिक नेपालगन्जको जिज्ञासामा भनिन्, ‘यो बर्षमा नेपालगन्जका कम्तिमा २ सय रोजगारदाता यस प्रणालीमा जोड्ने योजना हो ।’ श्रम संसारको वेबसाइट श्रमसंसारडटजिओभीडटकमडटएनपी मा तथा श्रम संसार एप प्ले स्टेर मार्फत डाउनलोड गर्न सकिनेछ । ‘श्रम संसार प्रणालीको पूर्ण उपयोग गर्न सबै सरोकारवालाहरूलाई अनुरोध गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भनेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सकिएपछि सरकारले रोजगारीका लागि राष्ट्रिय रोजगार कार्यक्रम लागु गर्न लागेको छ । ‘युवा रोजगारीको लागि रूपान्तरण पहल आयोजना पनि सकिएको छ,’ नयाँ कार्यक्रमका रूपमा राष्ट्रिय रोजगार कार्यक्रम आउन लागेको जानकारी दिंदै रोजगार संयोजक ज्ञवालीले दैनिक नेपालगन्जसँग भनिन्, ‘नयाँ कार्यविधि आइसकेको छैन, स्थानीय तहको र संघको केही कार्यक्रममा काम भइरहेको छ ।’