अझै पनि खाना पकाउन काठ, दाउराकै भर

खाना पकाउने इन्धनको प्रयोगका लागि ग्याँस, मट्टितेल, विद्युतीय चुल्हो प्रयोगमा आएको लामो समय बितिसकेको छ । तर, अझै खाना पकाउनका लागि काठ, दाउराको प्रयोग गर्नेको संख्या ५० प्रतिशत भन्दा बढी रहेको तथ्यांकले देखाएको छ ।

नेपालमा खाना पकाउनका लागि काठ दाउराको प्रयोग गर्ने घरपरिवारको संख्या २०७८ को जनगणना अनुसार, ५१ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा त्यो संख्या अझै उच्च रहेको पाइन्छ ।

लुम्बिनी प्रदेश सरकारले जारी गरेको आर्थिक सर्वेक्षण २०८१÷०८२ अनुसार, लुम्बिनी प्रदेशमा ५३.७ प्रतिशत परिवारले अझै पनि खाना पकाउनका लागि इन्धनका रूपमा काठ दाउराको प्रयोग गर्दै आएका छन् ।

लुम्बिनी प्रदेशमा रुकुम (पूर्व), रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पा लगायतका पहाडी जिल्लाहरूमा अझै पनि खाना पकाउन काठ÷दाउराको अत्यधिक प्रयोग भइरहेको देखिन्छ ।

लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्लाका ९२.९ प्रतिशत घरपरिवारले खाना पकाउन काठ दाउरा प्रयोग गर्दछन् । त्यसैगरी कपिलवस्तु जिल्लाका ८.३ प्रतिशत र रूपन्देहीका ४.९ प्रतिशत घरपरिवारले खाना पकाउन अक्सर गुइठा प्रयोग गर्दछन् । त्यसैगरी बर्दिया जिल्लाका ४.८ प्रतिशत घरपरिवारले खाना पकाउन अक्सर बायोग्याँस प्रयोग गर्दछन् ।

लुम्बिनी प्रदेशको बाँकेमा ४४.९ प्रतिशत घर परिवारले पनि खाना पकाउनका लागि काठ दाउराको प्रयोग गर्दै आएका छन् । रोल्पामा ९०.९, प्युठानमा ८८.७, अर्घाखाँचीमा ८८.३, गुल्मीमा ८६.३, पाल्पामा ६५.८, बर्दियामा ६३.५, दाङ्गमा ५२.९, कपिलवस्तुमा ५१.३, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४१.३ प्रतिशत घर परिवारले खाना पकाउने इन्धनका रूपमा काठ, दाउराको प्रयोग गर्दै आएका छन् ।

रूपन्देही, लुम्बिनी र नवलपरासी (सुस्ता पूर्व) जिल्लाहरूमा एलपी ग्याँसको प्रयोग तुलनात्मक रूपमा उच्च देखिन्छ । रूपन्देहीमा ७१.७%, लुम्बिनीमा ४२.२% र नवलपरासी (ब.सु.पा.) मा ५५.३% घरधुरीले खाना पकाउन एलपी ग्यास प्रयोग गरिरहेका छन् । नेपालमा एलपी ग्याँसको प्रयोग खाना पकाउन प्रयोग गर्ने घर परिवारको प्रतिशत ४४.३ रहेको छ । देशभर काठदाउरा, ग्याँस, बिजुली, गुइठा, बायोग्याँस बाहेक मट्टितेलको प्रयोग खाना पकाउनका लागि गर्नेहरूको संख्यामा ह्वात्तै कमी आएको छ । देशभर ०.२ प्रतिशतले मात्रै खाना पकाउनका लागि इन्धनको रूपमा मट्टितेलको प्रयोग गर्दै आएका छन् भने लुम्बिनी प्रदेशमा त्यो घर परिवार संख्या ०.२ प्रतिशत मात्रै रहेको छ ।

सर्वेक्षणमा विजुलीबाट खाना पकाउने प्रवृत्ति अत्यन्त न्यून देखिएको छ । अधिकांश जिल्लामा यो प्रतिशत ०.१% देखि ०.७% को सीमामा मात्र छ ।

लुम्बिनी प्रदेशमा विद्युत पहुँच सबै जिल्लामा रहेपनि त्यस अनुसार खाना पकाउनका लागि इन्धनको प्रयोग गर्ने गरेको पाइँदैन । अनियमित विद्युत र त्यसबारे जानकारी अभाव हुँदा पनि विद्युतको प्रयोग खाना पकाउने इन्धनको प्रयोगको रूपमा हुन नसकको बताइन्छ ।

Exit mobile version