प्रविधिविहीन चेकजाँच, यात्रुलाई सास्ती

नेपाल–भारत सीमाको भारतबाट नेपाल तर्फ आउने यात्रुहरूले नाकामा निकै सास्ती झेल्नु परिरहेको छ । सीमामा हुने चेकजाँचमा प्राविधिको प्रयोग नगर्ने र हातले मालासामानको चेकजाँच गर्दा यात्रुहरूको लामो लाइन लाग्ने गरेको नियमित देखिन्छ ।

भारत तर्फ मानिस तथा सरसामानका चेकजाँचका लागि प्रविधिको प्रयोग गरी सहज बनाइँदा नेपाल तर्फ न त्यसखालको प्रविधि राखिएको छ न पूर्वाधारको निर्माण भएको छ, जमुनाह नाकामा ।

सडकको बीच भागमा डिभाइडर राखेर नेपाल तर्फ प्रवेशद्वार सानो बनाउँदै लामो लाइन लगाएर सुरक्षाकर्मीहरूले चेकजाँच गर्दै आएका छन् । बार्षिक अर्बौ राजश्व संकलन गर्ने नेपालगन्ज भन्सारमा आइसीपी निर्माण पछि मालसामान भित्र्याउँदा सहज भएपनि यात्रुहरू भित्रिने नाका र सानो परिणाममा मालसामान
भित्र्याउनेले जमुनाह नाकामा निकै सास्ती व्यहोरिरहेका छन् । नेपालगन्जस्थित नेपालगन्ज भन्सार कार्यालयमा भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि भनेर ल्याइएको लगेज स्क्यानर मेशिन बिग्रेर अलपत्र परेको बर्षौ बितिसकेको छ ।

‘अब स्क्यानर मेसिन बनाउन नसकिने निर्णयमा पुगेका छौं’, नेपालगन्ज भन्सार प्रमुख जनार्दन पौडेलले भने, ‘स्क्यानर मेसिन सप्लायर्स र आविस्कार केन्द्रलाई देखाउँदा पनि मर्मत हुन नसक्ने प्रतिक्रिया आएपछि मेसिन लिलामीको प्रक्रिया अगाडि बढाउन पहल गरिरहेको छु ।’

सिमानाकाको संवेदनशीलतालाई बुझेर भन्सार परीक्षणलाई पारदर्शी, सरल तथा सहजता दिनका लागि भन्दै भन्सार विभागले २०७४ सालमा नेपालगन्ज भन्सार कार्यालयलाई सो लगेज स्क्यानर मेशिन खरिद गरी पठाएको थियो । सञ्चालनमा आएको केही बर्षमै बिग्रेको मेसिन मर्मतका लागि उद्योगी, व्यवसायीहरूको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघले समेत पटकपटक ध्यानाकर्षण गराएको थियो ।

मेसिन बिग्रेपछि दैनिक हजारौँको संख्यामा सर्वसाधारण यात्रुहरू आवतजावत गर्ने नाकामा मेशिन बिग्रँदा भन्सार कर्मचारी र सशस्त्र प्रहरीले सामानहरू हातैले छामछुम पार्दै चेकजाँच गर्ने गरेको देखिन्छ ।

‘स्क्यानर मेसिन बिग्रनु एउटा कुुरा होला तर नेपाल भित्रिने यात्रुलाई असहज भएको छ, जमुनाह नाका’, विकासका लागि नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ भन्छन्, ‘नाकामा भौतिक पूर्वाधार निर्माण गरी स्क्यानरबाट मालासामान तथा मानिसहरूको चेकजाँच गरिने व्यवस्था मिलाइनु पर्छ ।’

‘नाकामा चेकजाँच सुरक्षा, भन्सार छली रोक्नका लागि निकै महत्वपूर्ण छ हाम्रो जस्तो सानो मुलुकका लागि । नेपालगन्ज मात्रै होइन, तराईका सबै नाकामा पूर्वाधार प्रविधि सम्पन्न चेकजाँचको व्यवस्था मिलाइनुपर्छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ भन्छन्, ‘यति ठूलो नाका छ, हजारौं आउँछन्, सहज आउने, व्यवस्थित चेकजाँच गरी भित्रिने व्यवस्था राज्यले मिलाउनु पर्छ ।’ उनले नाकामा प्रभावकारी निगारानी भन्सार छली रोकिंदा राजश्व बढ्ने, लागुऔषध भित्रिन नसक्ने, मानवबेचबिखनका घटना निरुत्साहित हुने, देशकै सुरक्षा अवस्था मजबुत हुँदै जाने धारणा राख्छन् ।

नेपालगन्ज भन्सार प्रमुख पौडेलले जमुनाह नाकामा पूर्वाधार सहित विमानस्थलमा जस्तो सुविधासम्म चेकजाँचको व्यवस्था मिलाउन आवश्यक रहेको बताए । ‘त्यसलाई छलफलमा ल्याएको छु, ढिलो चाँढो कार्यान्वयन हुन्छ नै, कार्यान्वयन गर्न आवश्यक छ ।’

भन्सार प्रमुख पौडेलले जमुनाह नाकामा भन्सारको जग्गा आवश्यक मात्रामा नहुँदा थप पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहण वा खरिद गर्न आवश्यक रहेको बताए । ‘सुविधासम्पन्न पूर्वाधार निर्माणका लागि भन्सारको जग्गा मुख्य नाकामा छैन, मन्दिरको जग्गा भाडामा लिएर प्रयोग गर्नु परिरहेको छ, भारतबाट प्रवेश गर्ने मालवाहक सहित यात्रु तथा सवारी साधनलाई भवन नै बनाएर व्यवस्थित गर्न सकिन्छ’, उनले भने ।

जमुनाह नाकाबाट भित्रिनेहरू चेकजाँच झन्झटिलो, उदेक लाग्दो रहेको बताउँछन् । ‘चेकजाँच आवश्यक भएपनि अनावश्यक समय भन्सारमा गुजार्नु पर्ने अवस्था छ’, यात्रु भन्छन् । उनीहरू हातैले छामेर कतिसम्म सुरक्षाकर्मीले पत्ता लगाउन सक्छन् भन्ने प्रश्न गर्दै त्यसमा प्रविधिको प्रयोग आवश्यक रहेको बताउँछन् ।

तीन अर्ब घट्यो भन्सार लक्ष्य

नेपालगन्ज भन्सार कार्यालयका लागि गत आ.व.को तुलनामा तीन अर्ब बढी घटाएर राजश्व लक्ष्य निर्धारण गरिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार, चालु आ.व. २०८२÷०८३ मा २४ अर्ब भन्सार लक्ष्य निर्धारण भएको हो । अघिल्लो आ.व. २०८१÷०८२ का लागि भन्सार लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रूपैयाँ रहेको थियो ।

‘चामल लगायत विभिन्न वस्तुको करको दरमा आएको फरकले गर्दा भन्सार लक्ष्य घटाइएको छ’, नेपालगन्ज भन्सार प्रमुख पौडेलले भने, ‘चालु आर्थिक बर्षमा आयात, निर्यात बढ्यो भने निर्धारित लक्ष्य पूरा हुनसक्छ ।’

Exit mobile version