युवतीको हत्या गरी प्रहरीलाई फोन

नेपालगन्जमा बस्दै आएका एक पुरुषले युवतीको हत्या गरी एक दिनपछि प्रहरीलाई आफैले जानकारी गराएका छन् ।

नेपालगन्ज–१२ बेलासपुरमा सँगै बस्दै आएका ३३ वर्षीय प्रकाश सुनारले निर्मला थापाको हत्या गरेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक पतालीले जानकारी दिएका छन् । दैलेखका सुनार र थापा दुवै नेपालगन्जका दुई फरक होटलमा कार्यरत थिए ।

प्र्रहरीका अनुसार निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी शवलाई कोठामा बन्द छाडेका थिए । ‘प्रकाशले बुधबार हत्या गरी बिहीबार राती आफैले प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए’, बाँके प्रहरी प्रवक्ता पातलीले भने । मृतकको शव भेरी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

प्रकाश प्रहरी नियन्त्रणमा रहेको प्रहरीले अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अभियुक्त प्रकाशले दिएको सूचनाका आधारमा उनीहरू बस्दै आएको डेरामा प्रहरी पुगेर मृतक निर्मलाको शव फेला पारेको थियो । शव पोष्टमार्टम गरेर शनिबार परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ ।

Exit mobile version