सिनेरोयलले मनायो वार्षिकोत्सव

नेपाली फिल्मप्रति बढ्दो दर्शक आकर्षणले घरेलु सिने उद्योगलाई नयाँ भरोसा दिएको संकेत

सन्ध्या गैरे

नेपालगन्जको सिनेरोयल सिनेमा हलले आफ्नो वार्षिकोत्सव भव्य रूपमा मनाउँदै गर्दा पछिल्ला दुई वर्षमा नेपाली चलचित्रप्रति दर्शकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ ।

आइतवार सिनेरोयलको पर्दा अगाडी वार्षिकोत्सवको ‘केक सेरेमोनी’ गरिरहँदा उत्साहको सञ्चार गरेको सिनेरोयलले २०७८ देखि २०८२ सम्मको दुई वर्षे अवधिको तथ्यांक सार्वजनिक गरेको हो ।

‘यसबीच नेपाली फिल्महरूले सिनेरोयल हलमा उल्लेखनीय उपस्थिति जनाएका छन्, कारोबार पनि उत्साहजनक गरेका छन्, दर्शक उस्तै आकर्षण बनेका छन्,’ दैनिक नेपालगन्जसँग सिनेरोयलका प्रवन्ध निर्देशक डा. राहुल थापाले भने ।

प्रबन्ध निर्देशक थापाले दुई वर्षको तथ्यमा टेकेर भने, ‘दर्शक अब नेपाली कथामा आफ्नो जीवनको झल्को देख्न थालेका छन् । हामीले पनि नेपाली चलचित्रलाई बढी शो दिने अवसर दिँदै आएका छौं । दर्शकको विश्वासले सिनेमा हलको ऊर्जा बढेको छ ।’

हुनपनि नेपालगन्जको सिनेरोयलको वार्षिकोत्सवमा वितरित विज्ञप्तिमा नेपाली चलचित्रको सुनौलो प्रभुत्व प्रष्ट देखिन्छ । ‘पूर्णबहादुरको सारंगी’देखि ‘घरज्वाईं’ सम्म सिनेरोयलका दर्शकले नेपाली कथामा अपार माया देखाएको तथ्यांकले भनेको छ ।

दुई वर्षमा पाँच लाख बढी दर्शक भित्र्याएको सिनेरोयलमा नेपाली फिल्मको हिस्सा उल्लेखनीय छ । नेपाली चलचित्र पूर्णबहादुरको सारंगीमात्रै ३८ हजार ४६२ जनाले हेरेका छन्, त्यहीँ बहुचर्चित हिन्दी फिल्म पुष्पा–२ हेर्नेको संख्या ३१ हजार ७९७ रहेको तथ्यांकले देखाएको हो ।

सिनेरोयलका अनुसार, २०८० देखि २०८२ सम्मको अवधिमा सिनेरोयलमा प्रदर्शनमा आएका ११८ नेपाली चलचित्र र १२० हिन्दी चलचित्र हेर्न ५ लाख २ हजार ५७६ जना दर्शक हलमा पुगेका थिए ।

पछिल्लो वर्षमात्रै २ लाख ९७ हजार ७९८ दर्शकले सिनेरोयलको टिकट काटेका छन् । तीमध्ये १ लाख १७ हजार ४७४ जनाले नेपाली चलचित्र हेरेका थिए भने १ लाख ६४ हजार ८५५ जनाले हिन्दी चलचित्र हेरे । ‘यो संख्या नेपाली फिल्मका लागि धेरै सकारात्मक संकेत हो,’ सिनेरोयलका कार्यकारी प्रमुख रितेश कुमार श्रेष्ठले भने ।

सबैभन्दा लोकप्रियः पूर्णबहादुरको सारंगी

ग्रामीण जीवन र मौलिक संगीतको भाव बोकेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ ले ३८ हजार ८४२ दर्शक तानी नेपाली फिल्ममध्ये सबैभन्दा धेरै मन पराइएको चलचित्र बन्न सफल भयो । दर्शकहरू यस फिल्मको कथावस्तु, संगीत र अभिनयबाट प्रभावित भएको हल स्रोत बताउँछ ।

सिनेरोयलका अनुसार, नेपाली फिल्मका नाम नै बोल्दै छन् — भावना र वास्तविकता । घरज्वाईं, परदेशी, सारंगी, उनको स्वेटर र एञ्जिला जस्ता फिल्महरूले छोटो समयमै सयौं शो पाएका थिए र हजारौं दर्शक हलसम्म तान्न सफल भएका थिए ।

आइतवार दोस्रो वार्षिकोत्सवमा प्रवन्ध निर्देशक डा. राहुल थापा, संरक्षक डा. कल्पना थापा, कार्यकारी प्रमुख रितेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल सहित अतिथिहरुले ‘केक सेरेमोनी’मा सहभागिता जनाए ।

Exit mobile version