वेष्टर्नको १६ औं स्थापना दिवसमा रक्तदान

आफ्नो १६ औँ स्थापना दिवसलाई विभिन्न सिर्जनात्मक कार्यक्रमहरु आयोजना गरि मनाइरहेको वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाले आइतवार वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

त्यसक्रममा बाँकेमा हालसम्मकै उच्च योगदान रहनेगरि संस्थागत रक्तदान कार्यक्रम आयोजना गरिएको सहकारीका प्रवन्धक थानिश्वर पाण्डेयले जानकारी दिए ।

स्थापना दिवसका अवसरमा मानवीय सेवा र सामाजिक उत्तरदायित्वमा आफ्नो प्रतिबद्धता दर्शाएको वेष्टर्नले आइतवार आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा १ सय ९ पिन्ट रगत संकलन भएको छ । ‘बाँकेमा अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा एकैदिन संस्थागत रक्तदान गरिएको रेकर्ड दर्ज भएको रेडक्रसले जनाएको छ,’ यसअघि १ सय ५ जनाको रेकर्ड रहेको जानकारी पाइएको जानकानरी दिंदै प्रवन्धक पाण्डेयले भने ।

स्थापना दिवसको पूर्वसन्ध्यामा शनिबार जेष्ठ तथा असहाय नागरिकहरूका लागि भोजन अर्पण कार्यक्रम गरेको वेस्टर्नले स्थापना दिवसकै दिन पारेर वृहत् रक्तदान आयोजना गरेको हो । त्यसका लागि प्रेमबहादुर खड्काको संयोजकत्वमा सन्तोषबाबु सुवेदी र श्रीधर पौडेल सदस्य रहेको उपसमिति सक्रिय भएको थियो । ‘मानवीय सेवामा सकारात्मक छाप पार्ने हाम्रो प्रयास सफल भएको छ,’ संयोजक खड्काले दैनिक नेपालगन्जसँग भने ।

गतवर्ष गरिएको रक्तदानमा ५४ पिन्ट रगत संकलन भएको प्रवन्धक पाण्डेयले जानकारी दिए । यतिबेला रगत अभावबारे समाचार प्रकाशमा आइरहँदा वेष्टर्नको वृहत रक्तदानले उत्साह थपेको रक्तदानमा प्राविधिक सहकार्य गरिरहेको रेडक्रस ब्लड बैंकका कर्मचारी बताउँछन् ।

स्थापना दिवसकै अवसरमा शनिवार निलसागर सेवाआश्रम र मानव सेवा आश्रममा छुट्टाछुट्टै कार्यक्रम गरी जेष्ठ तथा असहाय नागरिकहरूलाई भोजन अर्पण गरिएको थियो ।

संस्थाका अध्यक्ष सञ्जय थापाले सहकारीले रक्तदानमार्फत मानवीय सेवामा हातेमालो गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेको जानकारी दिंदै यसले अन्य संस्थालाई पनि सिको गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

Exit mobile version