प्रधानमन्त्रीको भारत भ्रमणमा दिल्ली उडानको एजेन्डा समावेश गर्न माग

बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालगन्ज र बाँके क्षेत्रका तीनवटा महत्वपूर्ण विकासका एजेन्डाहरू समावेश गर्नका लागि परराष्ट्रमन्त्रीसमक्ष अनुरोध गरेका छन् ।

प्रतिनिधिसभा सदस्य ढकालले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन र सीमावर्ती क्षेत्रको विकासलाई गति दिन यी विषयहरूलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

ढकालले उल्लेख गरेका एजेन्डाहरूमा नेपालगन्ज–दिल्ली हवाई उडान, नेपालगन्ज भन्सार नाकालाई सुख्खा बन्दरगाहको रूपमा विस्तार र सञ्चालन, र राप्ती सोनारी गाउँपालिकाको कुसुमदेखि गंगापुरसम्म राप्ती नदीको तटबन्ध निर्माण जस्ता विषयहरू रहेका छन् ।

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको आर्थिक र पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास ढकालले व्यक्त गरेका छन् । ‘नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रयास चलिरहेको सन्दर्भमा यो उडान अनुमतिले यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ,’ सांसद ढकालको भनाइ छ । त्यसैगरी, नेपालगन्ज भन्सार नाकालाई सुख्खा बन्दरगाहको रूपमा विस्तार गरी पूर्ण क्षमतामा सञ्चालन गर्न सकेमा व्यापार सहजीकरण भई आयात निर्यातमा लाग्ने समय र खर्चमा कमी आउनेछ । यसले नेपाल र भारत दुवै देशलाई फाइदा पुग्ने देखिन्छ । बाँकेको राप्ती नदीको तटबन्ध निर्माणको विषयलाई पनि ढकालले जोड दिएका छन् । हरेक वर्ष बाढी र कटानका कारण यस क्षेत्रमा हुने जनधनको क्षतिलाई रोक्न भारतसँगको समन्वयमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको हित र आवश्यकतामा केन्द्रित हुने भएकाले ढकालले उठाएका यी विषयहरूले भ्रमणलाई थप फलदायी बनाउन सक्ने अपेक्षा गरिएको एमाले नेता दिपक बर्माले भने ।

Exit mobile version