कर्णाली विकास बैंक घोटाला : आजबाट बहस

कर्णाली विकास बैंकमा तीन अर्ब २० करोड रुपैयाँभन्दा बढीको वित्तीय घोटाला भएको घटनामा संस्थापक अध्यक्ष राजेन्द्रबीर रायसहित पक्राउ परेकाहरुबारे अदालतले आज आइतवारदेखि बहस सुनुवाई भएको छ ।

अभियुक्तसँग अदालतले विहीवारदेखि बयान शुरु गरेको थियो । ‘शुक्रवारसम्म पक्राउ सबैको बयान सकिएको छ,’ उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले दैनिक नेपालगन्जसँग भने, ‘आइतवारदेखि थुनछेकका लागि बहस शुरु हुनेछ ।’

कर्णाली विकास बैंक घोटालामा १ सय ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएपनि संस्थापक अध्यक्ष रायसहित ४ जनामात्रै पक्राउ गर्न सफल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरुविरुद्ध गरेको अनुसन्धानका आधारमा मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले बुधबार रायसहित १ सय ९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा मुद्दा दायर गरेको थियो । उनीहरुमध्ये अधिकाँश ऋणीसमेत छन् । बैंकका सञ्चालक, कर्मचारीसँगै कतिपयको मृत्यु भइसकेकाको नाममा पनि उजुरी परेको छ ।

यस प्रकरणमा सीआइबीले ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपिया कुल विगो दावीसहित मुद्दा दायर गरेको छ । रायको नाममा सबैभन्दा बढी २ अर्ब ६३ करोड ३२ लाख १६ हजार रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ । मुद्दामा प्रतिवादी बनाइएका प्रमुख व्यक्ति बैंकका संस्थापक अध्यक्ष राय, पूर्व अध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी, र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् ।

यो प्रकरणमा गत साता मात्रै सीआइबीले नेपाल राष्ट्र बैंकका तत्कालिन उपनिर्देशक भुवन बस्नेतलाई पक्राउ गरेको थियो । कर्णाली डेभलपमेन्ट बैंकमा स्थलगत निरीक्षणका लागि गएको तर व्यक्तिगत लाभ लिएर बैंकको गम्भीर प्रकृतिका कैफियतलाई समेत ढाकछोप गरेको आरोप उनीमाथि छ । त्यसकै कारण संस्था नै धराशायी बनेको अनुसन्धानमा देखिएको छ । उनलाई पनि मुख्य दोषीको सूचीमा राखेर मुद्दा दायर गरिएको छ ।

Exit mobile version